दाङ,फागुन ७ । सल्यान जिल्लामा एकजना आमाले नै नवजात शिशुको जन्मपछि हत्या गरेको रहस्य सार्वजननिक भएको छ । जिल्लाको दर्मा गाउँपालिका वडा नं. १ विष्टगाउँ निवासी २० बर्षीया लालमाया बुढा मगरले अवैध गर्भबाट जन्मिएको नबजात शिशुको हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले बुढा मगरले नवजात शिशुको हत्या पछि घर नजिकैको गहुँ बारीमा खाल्डो खनेर गाडेको जानकारी दिए ।
मगरलाई पक्राउ गरि अनुसन्धान गर्दा उक्त कुला खुलेको उनले बताए । मगरका पति भने बैदेशिक रोजगारीको सिलसिलामा २ बर्ष अगाडि मलेशियामा गएको खुल्न आएको डिएसपी शाहीले जानकारी दिए । पति विदेश गएको समयमा बुढा मगरले दार्मा गाउँपालिका वडा नं. २ टिमटाकुरा निवासी ३३ बर्षीय केशव सुनारसंग अनैतिक सम्वन्ध पछि गर्भ रहेको बच्चा माघ १६ गते राति आफ्नै घरमा जन्माएको र योजना वद्ध तरिकाले सिशुको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
बच्चा जन्मे लगतै जानिजानी शिशुलाई भुइतलमा एक्लै छोडेर आफु घरको माथिल्लो तलामा गइ सुतेको र भोलि पल्ट विहान बच्चा मृत फेला परेको अनुसन्धान बाट खुल्न आएको डिएसपी शाहीले बताए । नवजात सिशुको योजनावद्ध रुपमा हत्या गरेपछि अपराध ढाकछोप गर्न बुढा मगरले गहुँ बारीमा खाल्डो खनि गाडेको भन्ने वयान प्रहरी समक्ष गरेको शाहीले जानकारी दिए ।
यसैबीच प्रहरीले आफैंले जन्मदिएको शिशुलाई योजनावद्ध रुपमा हत्या गरेको अभियोगमा लालमाया बुढा मगर र केशव सुनारलाई नियन्त्रयणमा लिएर अनुसन्धान गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा पेश गरिएको जानकारी दिइएको छ ।