२०८१ भाद्र २३ गते आइतवार

च्याउ खेतीबाट लाखौ आम्दानी


बिमल योगी
दाङ, ५ फागुन ।
दाङको पक्वैका महिलाहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । एफ.वान. साना किसान कृषक समूह गठन गरी च्याउ खेती थालेका उनीहरुले पछिल्लो ६ महिनामा च्याउ खेतीबाट एक लाख४० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

पहिलो चरणमा दुईवटा टहराबाट च्याउ खेती थालेका उनीहरुले ९ सय किलो च्याउ बिक्री गरेको समूहका सचिव मनकुमारी चौधरीले जानकारी दिइन् । पहिलो पटक एक सय ५० पोका च्याउ खेती गरेकोमा चार सय किलो र दोस्रो पटक चार सय पोका च्याउ खेती गरेकोमा पाँच सय किलो बिक्री गरेको उनको भनाइ छ ।

पक्वैका २४ घरधुरी मिलेर थालिएको च्याउ खेती फस्टाउँदै गएपछि अहिले पाँचवटा टहरा निर्माण गरी एक हजार चार सयवटा पोकामा च्याउ राखिएको र दैनिक १५÷२० किलो च्याउ बिक्री भैरहेको समूहका अध्यक्ष कुमारी चौधरीले बताइन् । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको साना तथा मझौला कृषक आयस्तरबृद्धि परियोजना रिजमको तीन लाख ४४ हजार पाँच सय ४८ रुपैयाँ र समूहको एक लाख ९३ हजार सात सय ३७ रुपैयाँ गरी पाँच लाख ३८ हजार दुई सय ८५ रुपैयाँमा च्याउ खेती गरिएको हो ।

यसैबीच एफ.वान. साना किसान कृषक समूहले अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । समूहका अध्यक्ष कुमारी चौधरीको अध्यक्षता तथा रिजमका कार्यक्रम अधिकृत हरि शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै समूहका सदस्य शर्मिला चौधरीले च्याउ खेतीबाट दैनिक घर खर्च चलाउन सजिलो भएको बताए । यसअघि खेर गैरहेको समयको सदुपयोगसँगै च्याउ बिक्रीबाट आएको रकमले घर खर्च चलाउन निकै सजिलो भएको उनको भनाइ छ । समूहका उपाध्यक्ष वसन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनवाई कार्यक्रममा रिझमका कार्यक्रम अधिकृत हरि शर्माले जिल्लाका पाँचवटा समूह र संस्थामा २५ लाख बढीको लगानी गरिरहेको जानकारी दिए ।

घोराहीको पक्वै र लखवार, तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर र वडा नम्वर ४ रक्षाचौर तथा गढवा गाउँपालिका वडा नम्वर १ धानखोलामा स्थानीय समूह तथा संस्थालाई च्याउ खेतीका लागि तीन लाखदेखि १० लाख सम्म अनुदान दिइएको उनले बताए । उक्त अवसरमा घोराही उपमहानगरपालिका वडा नम्वर ६ का सदस्य कुन्ता सिजवाल, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद विमल योगी, उद्योग वाणिज्य संघका प्रतिनिधि श्रीराम चौधरीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *