शंकर के.सी.
सल्यान, ४ फागुन ।
दाङ तुलसीपुरको पहाडी क्षेत्र मुलकोट । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण । वरिपरि लेक र छाँगा, छहरा, पहरा । बीचमा सिद्ध चमेरे गुफा । ऐतिहाासिक र धार्मिक महत्व बोकेको यस गुफाको पर्याप्त विकास, व्यवस्थापन र उचित प्रचारप्रसार हुन नसकेपनि पछिल्लो समय धेरैको पर्यटकीय गन्तव्य बनेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा अवस्थित सिद्ध चमेरे गुफा हेर्न आउनेहरुको संख्या क्रमिक रुपमा बृद्धि हुँदै गएको गुफा ब्यवस्थापन समितिले जनाएको छ । गुफाको रेखदेख र टिकट शुल्क उठाउनका लागि स्थानीय सिताराम पुन मगरलाई जिम्मेवारी दिइएको छ । पुनले भनेका छन्, ‘यस गुफामा आउनेहरु बढ्दै गएका छन् । शनिबारको दिनमा त सयजना भन्दा धेरैले गुफाको अवलोकन गर्छन् ।’ उनका अनुसार अन्य दिनमा पनि मानिसहरु आइरहने गर्छन् ।
राप्ती लोकमार्गको तुलसीपुर सल्यान सडकखण्डअन्तर्गत तुलसीपुरदेखि करिव १० किलोमिटर उत्तरतर्फ हरनेटी भन्ने स्थानबाट गुफासम्म पुग्न सकिन्छ । व्यवस्थापन समितिका अध्यक्ष भूपबहादुर पुनका अनुसार हरनेटीबाट गुफा भएको स्थानको थोरै माथिसम्म मोटरबाटो पुगेको छ । यस्तै गुफाको केही तलसम्म दाङको पर्सेनीबाट पनि मोटरबाटो आएको अध्यक्ष पुनले जनाए ।
चमेरे गुफाको वातावरण निकै शान्त छ । गुफाका भित्ताहरुमा अनेक आकृति देख्न सकिन्छ । शिव, बाघ, सर्पलगायतको आकृति रहेको यस गुफाभित्र निकै अध्याँरो छ । बिजुली बत्तीको ब्यवस्था गरिएको गुफामा १२० वाटको सोलार पनि जडान गरिएको छ । यद्यपि गुफाभित्र जडान गरिएका बत्ती निकै मधुरो रहेका छन् । अवलोकन गर्न जानेहरुले आफै टर्च लाइट नलगेमा गुफाभित्रको सबै अवस्था हेर्न मुस्किल पर्छ ।
गुफाभित्र र बाहिर दुईवटा शिवजीको मूर्ति रहेको छ । धेरैले शिवजीको पूजा आरधाना पनि गर्ने गर्दछन् । गुफाभित्र अर्काे तला हेर्न र त्यहाँका ओढारहरु हेर्नका लागि फलामको भ¥याङहरु बनाइएको छ । यद्यपि भ¥याङहरु खिया लागेर जीर्ण अवस्थामा पुगिसकेको छ । उचित व्यवस्थापनको अभावमा रहेको सिद्ध चमेरे गुफा प्राकृतिक सौन्दर्यताको एक बेजोड नमुनाको रुपमा रहेको छ ।
स्थानीयका अनुसार यो गुफा २०५५ साल तिरबाट मात्रै चर्चामा आउन लागेको हो । किनकी विकट क्षेत्रमा अवस्थित छ । स्थानीय मोतीराम ओलीले भने, ‘भर्खर–भर्खर यो गुफा चर्चामा आउन थालेको हो । रेडियो, टिभी र पत्रपत्रिकामा गुफाको बारेमा केही कुरा आए झनै प्रचार हुने थियो ।’ यस गुफा रहेको मुलकोट गाउँ पनि निकै मनमोहक छ । शितल वातावरण, कहिलै नसुक्ने पानीका मुल, माहुरीपालन तथा बाख्रापालन र तरकारी खेतीका लागि उपयुक्त मानिने यस क्षेत्रमा घुम्न जाने जोकोही पनि गाउँले वातावरणको मजा लिन सक्छन् ।
मुलकोटको लेकबाट दाङको दक्षिणतर्फ हेर्दा तुलसीपुर, घोरनेटी, पर्सेनी, विजौरी, हलवार, खाद्रे वनहरी र अन्य समथर मैदान देख्न सकिने स्थानीय शुकमाया पुनले बताइन् । यही भएर हिजोआज दैनिक ३५ देखि ४० वटासम्म मोटरसाइल मुलकोट क्षेत्रमा आउने गरेको उनले बताइन् । पर्यटन विकासको अत्यन्तै सम्भावना बोकेको चमेरे गुफाको उचित व्यवस्थापन र प्रचारप्रसार हुन सक्ने हो भने विदेशी पर्यटकहरुको पनि मुख्य आकर्षणको केन्द्र बन्ने देखिन्छ ।