२०८२ जेष्ठ ११ गते शुक्रवार

सुरक्षित घर बनाउँदा लगानीसँग तुलना हुँदैनः मन्त्री चौधरी


घोराही, माघ २८ ।
प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गरेका छन् । घोराही उपमहानगरको आयोजना र भूकम्प प्रविधी राष्ट्रिय समाज नेपालको सहयोगमा सोमबार भएको २१औँ भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने ‘भूकम्प प्रतिरोधी घर बनाउनु नै जीवन सुरक्षा गर्नु हो ।’

भूकम्पले कुनै असर नगर्ने तर मानवले बनाएका संरचनाहरु जोखिममा रहने भन्दै उनले अन्य घरहरुभन्दा भूकम्प प्रतिरोधी घर निर्माणमा केही प्रतिशत खर्च बढी आउने बताए । भूकम्प कतिबेला आउँछ थाहा नभए पनि हामीले बनाउने संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउन भने अनिवार्य र आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिए । भूकम्प जतिबेला पनि जान सक्ने भन्दै उनले प्रदेश सरकारले भवन निर्माण संहितालाई कडाईका साथ कार्यान्वयनमा ल्याउन लागेको समेत जानकारी दिए ।

कानुनीरुपमै नागरिकलाई भूकम्प प्रतिरोधी घर बनाउनका लागि सचेतनासहित सुरक्षित जीवनका बारेमा बुझाईने मन्त्री चौधरीको भनाइ छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीले घर निर्माणमा लगानीभन्दा ठूलो कुरा सुरक्षित भएको भन्दै भवन निर्माण संहितालाई जनस्तरबाटै कार्यान्वयनमा अग्रसर हुन अपिल गरे ।

नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विभिन्न समयमा भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी दिइएको थियो । साथै सुरक्षित भवन निर्माणका बिषयमा प्रदर्शनीसमेत गरिएको थियो । दुईवटा नमूना घर बनाई त्यसलाई कम्पन दिएर प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा नयाँ प्रविधी अनुसार पुरानो घरलाई प्रवलीकरण गर्न थालिएको विषयमा लक्ष्मण आचार्यले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले गरेका थिए । कार्यक्रममा उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले नगरमा अहिलेसम्म १७ सय ८६ वटा घर भूकम्प प्रतिरोधी बनेको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *