तुलसीपुर, २८ माघ ।
तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माणको तयारी गरिएको छ । नगरका वडाहरुलाई समेटेर भित्री चक्रपथको तयारी गरिएको हो । ग्रामीण वडाहरुलाई एकीकृत गर्ने गरी चक्रपथ निर्माण गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
‘सडकको अवस्था नाजुक रहेका वडा नम्वर ३, ४ र ७ लाई जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो’ पाण्डेले भने, सडक सञ्जाल विस्तारलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा छ । वडाहरुलाई पनि जोड्ने गरी चक्रपथ निर्माणको क्रम निरन्तर अगाडि वढाइने बताए । वडा नम्वर ७ राजापुरबाट सुुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ति उद्यान, मिलनचोक हुँदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले बताए ।
इन्जिनियर योगीले चक्रपथको लम्वाइ ५ किलोमीटर रहेको र ५ सय मिटर कालोपत्रे भइसकेको समेत जानकारी दिए । उनले सडकको कुल चौडाई ३० मिटेर हुने भएपनि तत्कालका लागि १२ मिटर रहने जानकारी दिए ।
प्रदेश सरकारको तीन करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख शरद मानन्धरले बताए । प्रमुख मानन्धरले यो आर्थिक वर्षमा तीन किलोमिटर जति बाटो कालोपत्रे गर्ने र बाँकी अर्को आर्थिक वर्षमा गर्ने गरी काम अगाडि बढाइएको पनि जानकारी दिए ।
‘यसपटकको बजेटले सबैतिर कालोपत्रे गर्न पुग्दैन बाँकी अर्को वर्ष गरिनेछ’ मानन्धरले भने । प्रमुख मानन्धरले डिपिआरको काम सम्पन्न भइसकेको बताउँदै स्टिमेट गरेर तत्काल काम अगाडि बढाइने पनि जानकारी दिए ।