दाङ, माघ २८ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यले युवराज खड्काले गुरु जजुर नमुना माध्यमिक विद्यालयमा निजी खर्चमा सरस्वतीको मूर्ति दान गरेका छन् । विद्यालय परिसरमा नवनिर्मित मन्दिरमा युवा नेता खड्काले व्यक्तिगत ८५ हजार खर्चेर निर्माण गरेको सरस्वतीको मूर्ति सरस्वती पूजाको दिन प्राण प्रतिष्ठा गरिएको हो ।
आफ्ना स्वर्गीय बुवा तथा उक्त विद्यालयका शिक्षक कर्णबहादुर खड्काको स्मृतिमा उक्त मूर्ति दान गर्न पाउँदा खुसी लागेको युवा नेता खड्काले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता खड्काले भनेका थिए ‘मेरी आमा अमृता खड्कासँग मूर्ति दान गर्ने कुरा गरेपछि विद्यालय परिवारलाई प्रस्ताव गर्दा सहजै स्वीकार भयो र हामीले निजी खर्चले बुवाको स्मृतिमा मूर्ति दान गरेका हौँ ।’
खड्काले त्यसक्रममा सरकारी विद्यालयको पढाइको स्तर सुधार्न सबैभन्दा पहिले शिक्षक, विद्यालय व्यवस्थापन समिति र समुदाय जिम्मेवार हुनुपर्ने बताए । ‘मेरो पनि निजी विद्यालयमा पढ्ने चाहना थियो, तर मेरो बुवाले मैले जहाँ पढाउँछु तैले त्यही पढ्नु पर्छ भन्नु हुन्थ्यो’ खड्काले भने ‘सरकारी विद्यालयमा पढाउने शिक्षकले निजी विद्यालय छोराछोरी पढाउने क्रम बन्द हुनुपर्छ ।’ उनले गुरु जजुर नमुना माविको सफलताको प्रशंसा गर्दै थप सफलताको लागि समुदाय थप अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मन्दिर निर्माण गर्न ७ लाख ७३ हजार २ सय १३ रुपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले जानकारी दिएका थिए ।
निजी लगानीमा सरस्वती मन्दिर
यसैबीच माध्यमिक विद्यालय दंगीशरण–२ मधपुरका प्रधानाध्यापक खेमराज बुढाथोकीको परिवारले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने भएका छन् । प्रधानाध्यापक बुढाथोकीका बुवा एवं विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय विजुली बुढाथोकीको स्मृतिमा बुढाथोकी परिवारले निजी लगानीमा मन्दिर निर्माण गर्न थालेको हो । विद्यालयमा सरस्वातीको मन्दिर नभएका कारण आफ्नो बुवाको स्मृतिमा मन्दिर निर्माण गर्न थालेको प्रधानाध्यापक बुढाथोकीले बताए । प्रधानाध्यापक बुढाथोकीले एक समारोहका बीच मन्दिरको शिलान्यास गरेका छन् । करिब तीन लाख लागतको अनुमान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम केसीको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको हो ।