दाङ, माघ २६ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले बिरामीलाई औषधिमा ठग्दै आएको भन्नु गतल कुरा भएको सम्बन्धित निकायले स्पष्ट पारेको छ ।
उक्त आसयको समाचार प्रकाशित भएपछि अस्पतालका फार्मेसी प्रमुख सुलभ अधिकारीले समाचार असत्य र भ्रमयुक्त भएको स्पष्ट पारेका हुन् । अधिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाचारमा उल्लेख गरिएका कुरा असत्य रहेको हुँदा भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् । अधिकारीले भेटेरै केही क्लिनिक सञ्चालकहरुको षड्न्त्रमा भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै उनीहरु अस्पतालको बदनाम गराएर त्यसमा रजाई गर्न चाहेको हुँदा सबै सचेत रहन आवश्यक रहेको तर्क गरे ।
अस्पतालको आसपमा निजी क्लिनिक खोलेर बसेकाहरुले व्यक्तिगत लाभका लागि अस्पताल फार्मेसीको बदनाम गर्न तथ्यहिन समाचार दिएको अधिकारीले दाबी गरे । ‘पछिल्लो समय अस्पतालको सेवामा निकै सुधार भएको छ । आजकल दैनिक दुई दर्जन जति डेलिभरीका केसहरु सफलतापूर्वक भएका छन्,’ अधिकारीले भने ‘थोरै जनशक्तिमा त्यत्तिको काम भएपछि आसपासका क्लिनिक सञ्चालन छटपटाएका हुन् ।’ उनले यसक्षेत्रकै साझा सम्पत्तिको रुपमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको विकासका लागि सबै सचेत नागरिकहरु लाग्न आवश्यक रहेको बताए ।