रुकुम (पूर्व)जेठ २४ । रुकुम पूर्वमा स्थानीय तह निर्वाचनका बेला भएको व्यक्ति हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा पुथाउत्तरंगा गाउँपालिका–११, का नवनिर्वाचित अध्यक्ष कुमार सिंह, निवर्तमान अध्यक्ष जयकुमार बुढा र स्थानीय अर्जुनकुमार बुढा पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध सोही ठाउँकी ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्या आरोपमा किटानी जाहेरी परेको थियो। वैशाख १९ गते रातिदेखि हराएकी उनको शव गाउँकै जंगलमा वैशाख २६ गते भेटिएको थियो ।
शव भेटिएकै दिन उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वैशाख १९ गते राति सोही वडाको तल्लो सेरामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । जिल्ला अदालत रुकुम पूर्वले सोमबार आरोपितलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गरेको हो ।
जेल चलान भएका सिंह वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी मतदान हुनुअघि नै पक्राउ परिसकेका थिए । सिंहले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतले पराजित गरेका थिए ।
सिंहको ४ सय ६१ र बुढाको ४ सय ५८ मत आएको छ । जयकुमार २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् । दुवै जना नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
पक्राउ परेका अर्जुन पनि माओवादीकै कार्यकर्ता हुन् । सोमबारको थुनछेक बहसपछि रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायधीश सनतचन्द्र लवटले थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि कारागार चलान गर्ने आदेश गरेका हुन् ।
फरार रहेका कृष्णबहादुर बुढा, जनक कामी र विष्णु बुढालाई अदालत उपस्थित गराउन आदेश पनि भएको अदालतका नायब सुब्बा ललितकुमार ओलीले जानकारी दिए ।
सोही झडपमा रहेका भाइ ल्याउन भनेर जुनमाया झडप स्थल पुगेकी थिइन् । उनी पुगेको केही समयसम्म पनि झडप भएपछि प्रहरीले सबैलाई तितरबितर पारेको थियो ।
१९ गते रातिदेखि हराए पनि २० गते मात्रै जुनमाया हराएको भनेर परिवारले प्रहरीकहाँ खबर गरेका थिए । सोही खबरको आधारमा खोजतलास गर्दा जंगलमा उनको शव भेटिएको थियो ।