सागर थापा,
दाङ,माघ २३ । कसैलाई खाएको पचाउनकै लागि हजमोला वा पाचक आदी खानुपर्ने अवस्था छ भने कसैलाई विहान र बेलुका हातमुखको जोहो कसरी गर्ने भन्ने चिन्ता छ ।
एउटा यस्तै कथा दाङको बराखुटीमा बस्दै आएका एक परिवारमा पनि छ । देउखुरीको राप्ती गाउँ पालिका अन्तरगत वडा न २ स्थित बराखुटी पूर्व–पश्चिम राजमार्गसंगै जोडिएको एउटा बस्ति हो । त्यही बस्तिमा टिनको छानो युक्त एक कोठे घर छ । जहाँ ७ बर्षीय मनोज गिरी र उनका ३४ वर्षीय बुवा रोमलाल गिरी मात्रै बस्ने गर्छन । फागुन १० गते मात्रै मनोज ८ बर्षमा प्रवेश गर्छन ।
झन्डै ४ बर्ष अगाडि भारतको चेन्नेइमा चौकिदारी गर्ने क्रममा रोमलालको लडेर ढाड (मेरुदण्ड) भाँचिन पुगेको थियो । उनलाई त्यसपछि २ बर्ष अस्पतालमा भर्ना भए । उनका मालिकले उपचारमा झण्डै डेढलाख जति भारतीय रुपैंया खर्च गरे । तर गिरी पहिलेको जस्तो अवस्थामा फर्किन सकेनन् । हिड्नका लागि उनलाई ह्विल चियर र बैशाखी अनिवार्य चाहिने भयो । छोरा विना सौचालय जान आउन पनि मुस्किल । ‘छोरा पढ्न गएको समयमा म मुस्किलले सौचालय घिस्रिदै गएपनि उभिएर ट्वाईलेट गर्नुपर्ने बाध्यता छ,’ गिरीले भने ‘कहिले त ३÷४ दिनसम्म ट्वाईलेट नै लाग्दैन ।’
जव रोमलाल अशक्त भए त्यसपछि उनकी पत्निले पनि उनलाई छोडेर अर्कै संग हिडिन । त्यसयता रोमलालको एक्ला साहारा उनका नाबालक छोरा मनोज मात्रै रहे । त्यो अवस्थामा मानविय भावना राखेर भारतमै रहेका नेपाली दाजुभाईको सहयोग जुटाएर बावु छोरा नेपाल फर्किन मद्दत गरे । जस्तो विपतमा पनि संघर्ष पूर्वक बाँच्नु बाहादुरी हो । साश छँदा सम्मको आश सबैलाई हुन्छ । रोमलाल र उनका नाबालक छोराले पनि हिम्मतका साथ परिस्थितिको डटेर सामाना गरे । उनीहरुका लागि सानो भएपनि घाम पानी बाट जोगिन घर बनाउनु बाध्यता पनि थियो । त्यसैले भएको एककठ्ठा जमिन बेचे । त्यो पैंशाले एक कोठे टिनले छानोयुक्त घर निर्माण गरे । दुर्घटना पछि मेरुदण्ड भाँचिएका रोमलाल सुतेरै भएपनि सानो छोरा मनोजलाई कसरी खाना पकाउने भन्ने कुरा सिकाए । मनोजले बाबुको निर्देशन अनुसार जसोतसो खाना पकाएरै भएपनि बाबु छोराको प्राण बाँचेको छ ।
मनोजले घरमा खाना पकाउने, कपडा धुने लगायतका गृहस्थी जीवनका सबै कामको बोझ उठाउनु परेको छ । त्यसमाथि अपांग बाबुको रेखदेख र स्याहार गर्नु पर्ने । जे जस्तो सुकै अप्ठेरो सप्ठेरो खेपेर भएपनि मनोज विद्यालय जान थाले । हाल स्थानीय पब्लिक एकेडेमी बोर्डिङ स्कुलको कक्षा १ मा अध्यनरत मनोजको धेरै पढ्ने चाहाना छ । तर कसरी ? उनको अगाडि ठूलो प्रश्न बाचक चिन्ह खडा भएको छ ।
कारण मनोजलाई साँझ विहान के खाने भन्ने सबै भन्दा ठूलो चुनौती छ । ‘कहिले यता बाट कहिले उता बाट मागेर साँभ विहानको छाक टार्दै आएको छ,’ रोमलालले भने ‘यही छोरा मात्रै मेरो भगवान हो र जीवनको एकमात्रै साहारा हो।’ तर संधै यसरी मागेर साँझ विहानको गर्जो कसरी टार्ने भन्ने चिन्ताले बाबु रोमलाल भयवित छन् । त्यसमाथि उनी आफ्नो नाबालक छोराको भविस्यको कुराले थप चिन्तित बन्ने गर्छन ।
त्यस्तै चिन्ता ७ बर्षीय मनोजलाई पनि छ । बाबुलाई थप औषधी कसरी गर्ने भन्ने चिन्ता । ७ वर्षका मनोजलाई पढाउन हातपाउ जोडेर बार्षीक १० हजारमा खर्चे हुने गरेको बाबु रामलाले बताए । ‘मैले घरमा शिक्षकलाई बोलाएर विन्ति विसाएर केही छुट भएको हो । तर त्यो पैंशा कसरी दिने म संग छैन ।’ रामलालले भने ।
७ बर्षीय छोरा मनोजका एक्ला साहारा बुवा रोमलाल ह्विल चियर विना चल्न सक्दैनन् । घरमा अरु कमाउने कोही छैनन् । रोमलालका अनुसार उनका नजिकका आफन्त अरु कोही छैनन् । उनकी आमा उनी डेढ बर्षको छँदा नै अर्कै संग विवाह गरेर गएको हुँदा आफन्ती कोही नभएको रोमलालले बताए । त्यसैले उनलाई सघाउने नजिकमा आफन्त कोही छैन । यही कारणले गर्दापनि छोरा मनोजको थप पढाई र भविस्य अन्यौंलमा पर्छ कि भन्ने कुराले रामलाललाई निकै पिरोल्छ ।
रोमलाल जस्ताको लागि राज्य कहाँ छ ? त्यो उनलाई पनि थाहाँ छैन । जे होस राज्य वा अन्य संघ संस्थता र कुनै दाताको सहयोगको उनलाई ठूलो खाँचो छ । रोमलाललाई पनि एउटै चिन्ता छ । आँफु जे जस्तो भएपनि कक्षा १ मा अध्यनरत छोरालाई कसरी अघिल्ला कक्षाहरु राम्रो संग पढाउने र असल नागरिक बनाउन सक्छु भन्ने ? घरका मुली रामलाल आँफै थलापरे पछि नावालक मनोजको भविस्य अन्यौंलमा छ । यस्तो अवस्थामा बाबुछोरालाई कतैबाट गिरीका सहयोग प्राप्त भएको खण्डमा ठूलो मद्दत मिल्ने छ । मानविय भावनाले सहयोग गर्न चाहाने सबैलाई रोमलाल र उनका एक्ला साहारा ७ बर्षी मनोजले आफ्नो मोवाईल नं. ९८१०८४८५८२ मा सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।