दाङ, २३ माघ
दाङमा अदालतबाट दोषी ठहर भएका तर फरार सूचिमा रहेकामध्ये २० जनालाई प्रहरीले तीन महिनाको अवधिमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेको २० जना दोषीहरुलाई तीन महिनामा पक्राउ गरी जेल चलान गरिएको हो ।
पक्राउ परेकाहरुबाट २६ बर्ष ८ महिना २३ दिनको कैद घटेको छ । साथै अदालतले जरिवाना तोकेकाहरुबाट १ लाख ४७ हजार १ सय ५० रुपैयाँ असुल भएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
दाङमा अदालतले दशकौ बर्ष पहिले फैसला गरेका दर्जनौ फैसला कार्यान्वयन हुन सकेको छैन् । अदालतले जरिवाना र कैद फैसला गरेका १८ सय दोषी फरार रहेका छन् । अदालतबाट जरिवाना र कैद सजायको फैसला सुनाईएका स्वदेशी र विदेशी गरि १८ सय ४१ जना अझै कानुनको दायरामा आउन सकेका छैनन् ।
दोषीहरुलाई पक्राउ गर्न नसकिएपछि चालु आर्थिक बर्षलाई सर्वोच्च अदालतले फैसला कार्यान्वयनको बर्षका रुपमा प्रहरीसँग समन्वय गरी खोजी अभियानलाई तिब्रता दिएको अदालतको भनाइ छ ।