तुलसीपुर, जेठ ३ । दंगीशरण गाउँपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका काका शम्भु गिरी, शान्तिनगरमा नेता गिरीका विश्वास पात्रहरु प्रमोद बस्नेत र बबई गाउँपालिकामा कुलबहादुर केसीको जितले काँग्रेस नेता दीपक गिरी थप बलिया बनेका छन् ।
दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तरगतमा पर्ने तुलसीपुर पश्चिमका तीन पालिकाहरु एक साथ बिजय हासिल गरेर काँग्रेसले जितको झन्डा फहराउँदा मंगलबार दीपक गिरीलाई जित पछिको खुसियालीमा निकालिएको ¥यालिमा पुग्न भ्याइ नभ्याइ भयो ।
पश्चिम क्षेत्रमा सबै ‘क्लन स्वीप’ भएपछि नेता गिरी बिहानै पश्चिम दाङ तर्फ लागेर तीनै पालिकाको बिजय उत्सवमा पालै पालो सहभागी बनेका थिए ।
‘ यसपटक न्यायप्रेमी जनताले हामीलाई न्याय गरे,’ नेता गिरीले भने ‘ कम्युनिष्टले बिगतमा नहुने सपना बाँडेर जनतालाई झुक्याएको हुँदा फेरि न्याय प्रेमी जनताले काँग्रेस रोजेका हुन ।’
यसपटक अघिल्लो पटक जस्तो काँग्रेस जन बिभक्त भएर हैन एक ढिक्का भएर निर्वाचन फेस गरेको थियो ।
काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको मजबुत संगठन र प्रभाव क्षेत्र भएको हुँदापनि यस पटक पश्चिम दाङ क्लीन स्वीप भएको धेरै काँग्रेसीको मत छ ।
मंगलबार प्राप्त मत परिनाम अनुसार काँग्रेसले यसअघि नेकपा एमालेले जितेका बबई र दंगीशरण गाउँपालिकामा पनि जितेर पश्चिम दाङ क्लीन स्वीप गरेको हो ।
बबई गाउँपालिकामा अध्यक्षमा काँग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । केसी गिरीका विश्वास पात्र हुन भने खड्का अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकट मानिन्छिन ।
त्यस्तै दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गिरी नाताले दीपक गिरीका काका हुन ।
उपाध्यक्षमा निर्वाचित खड्का भने गेहेन्द्र गिरी निकट मानिनिन्छिन् ।
दंगीशरण काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको पुर्खेउली गाउँ हो । पूर्व मन्त्री समेत रहेका नेता गिरी त्यहीका मतदाता हुन ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेसले बिगतको जस्तै जितको छबिलाई जोगाउन सफल भएको छ ।
मंगलबार प्राप्त मत परिनाम अनुसार गाउँपालिका अध्यक्षमा काँग्रेसका ३९ बर्षीय प्रमोद बस्नेत बिजयी भएका छन् । बस्नेत गिरीका विश्वस पात्र मध्यका एक हुन ।
उनी २०७४ सालको निर्वाचन ताका मात्रै राप्रपा परित्याग गरि काँग्रेसमा पार्टी प्रबेश गरेका थिए । उनी छोटो समयमै नेता गिरीकै कारण चर्चित बनेका हुन ।