दाङ,माघ २२ । रुकुम पूर्व अर्थात ५ नं. प्रदेश अन्तरगतको एउटा पहाडी जिल्ला सदरमुकामको विषयलाई लिएर अशान्त बन्दै आएको छ ।
सदरमुकामको विषयलाई लिएर स्थानीयको बीचमा झडपको स्थिति उत्पन्न भएपछि त्यहाँ तीन दिनदेखि अनिश्चितकालिन कफ्र्यू लगाउँदै आइएको छ । स्थानीय प्रशासनले आइतबार बेलुकी ७ बजेटबाट लगाएको कफ्यू कहिले हट्छ भन्ने अझैं निश्चित हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले तनाव पूर्ण स्थिति रहँदा सम्म कफ्र्यू कायम रहने फोनमा जानकारी दिए ।
स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा बासी र त्यसका पक्षधरहरु एकातर्फ आन्दोलन गरिरहेका छन् भने माघ १५ गतेदेखि नै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नं. ५ र ६ रुकुमकोट तथा त्यसका पक्षधर आन्दोलनमा उत्रिएका थिए । रुकुमकोट पक्षधर संघर्ष समितिले संयोजक नन्दलाल शर्मालाई चयन गर्दै आन्दोलनमा होमिएको छ भने गोल्खाडा पक्षधर सरोकार समितिले संयोजक केशरमान रोकालाई बनाएर आन्दोलन गर्दै आएको छ ।
हाल अस्थायी सदरमुकाम रहेकै ठाउँमा सदरमुकाम कायम हुनुपर्ने र सरकारको निर्णय कार्यान्वय हुनुपर्ने मागगर्दै गोल्खाडा बासी छुट्टा छुट्टै आन्दोलन तथा प्रदर्शनमा उत्रिदा झडपको स्थिति उत्पन्न भएपछि त्यो रोक्न अनिश्चितकालिन कफ्र्यू लगाउनु परेको प्रजिअ शर्माले बताए ।
२०७४ माघ ११ गतेको मन्त्री परिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नं. –१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । त्यस लगतै सरकारको उक्त निर्णय खारेजीको माग गर्दै माघ १७ गते सर्वोच्चमा अदालतमा रुकुमकोट तथा त्यसका पक्षधर स्थानीयको पहलमा रिट दायर भएको छ । जिल्लाको सदरमुकाम कहाँ रहने भन्ने सवालमा सर्वोच्चमा उक्त मुद्दा विाचाराधिन अवस्थामै छ ।
आइतवार साँझदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५ रानीकोट,उत्तरमा सिस्ने गाउँपालिका–६ को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५ को रुमालबारा हुँदै सहिदपार्कसम्म अनिश्चित कालिन कफ्र्यू आदेश जारी गरिएको प्रजिश शर्माले जानकारी दिए ।
प्रजिअ शर्माले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) को उपदफा (३) अनुसार अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर जारी गरिएको निषेधाज्ञा कायमै रहने सेतोपाटीलाई बताए । ‘ जवसम्म झडपको स्थिति कायमै रहन्छ र जवसम्म स्थितिमा सुधार आउँदैन तव सम्म कफ्र्यू जारी रहनेछ,’ प्रजिअ शर्माले भने ।
तोकिएको चार किल्लामा अर्को सूचना नआएसम्म कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको उनले जानकारी दिए ।