ध्रुवराज न्यौपाने
तुलसीपुर, २१ माघ ।
दर्शकहरुले अत्यधिक मन पराएको नाटक करोटको बारेमा सोमबार तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा करोट नाटकका निर्देशक तथा कलाकार प्रणव आकाशले समाजको सकारात्मक परिवर्तनका लागि नाटक करोट तयार पारिएको र देशका विभिन्न स्थानमा देखाउँदै आएको कुरा बताए ।
उनले राजधानी बाहिरका दर्शकहरु थियटर सोको बारेमा खासै जानकार नरहेकाले थियटर सो र यसको प्रभावका बारेमा पनि जानकारी दिन राजधानी बाहिरका विभिन्न शहरहरुमा देखाउन थालिएको बताए । साथै जुनसुकै ठाउँमा पनि करोट नाटकलाई दर्शकहरुले अत्यधिक मन पराएको उनले बताए ।
दाङको घोराहीमा करोट देखाईसकेको र सोमबार र मंगलबार तुलसीपुरमा देखाउन लागेको अवगत गराउँदै उनले सबैको साथ र सहयोगका लागि समेत अनुरोध गरे । साथै कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानज्योति कलेजका प्राचार्य सुरेन्द्र जिसीले काठमाडौँदेखि दाङसम्म आएकोमा धन्यवाद दिदै नाटकको सफलताको शुभकामना व्यक्त गरे ।
विशिष्ट अतिथि गुरु जजुर मावि का प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले नाटकको केही ऐतिहासिक कुरा गर्दै साहित्यका विभिन्न विधामध्ये नाटक सबैभन्दा राम्रो भएको बताए । उनले यसरी नाटक तयार पारी समाज रुपान्तरणका लागि युवाहरुले हातेमालो गर्दै अघि बढेकोमा खुशी व्यक्त गरे ।
संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका सहायक प्राचार्य सूर्यप्रसाद शर्मा, गोरखा माविका विज्ञान संकाय प्रमुख विष्णुप्रसाद भण्डारी, साहित्यकार वसन्त आचार्य, डिल्ली बस्नेत ‘संगीत’, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, नायक मनोज लामिछाने लगायतले नाटकसम्बन्धी आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा हेल्पिङ हेन्ड्स दाङका अभियान्ताहरु, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकलगायतको उपस्थिति रहेको थियो । संघका सदस्य दिपक कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।