२०८० चैत्र १६ गते शुक्रवार

जहाँ आफ्नो गाउँको सुख शान्तिको लागि पूजा हुनेगर्छ …

शिवु खनाल,
देउखुरी, माघ १९ । तपाँई मन्दिर के का लागि जानु हुन्छ ? आस्था, श्रद्धा र सुन्तुष्टिको लागि । कति मानिसहरु भगवान संग बर माग्न पुग्छन् । अमन चैन र सुख शान्तिको कामना गर्छन । तर दाङ देउखुरीमा एउटा यस्तो मन्दिर छ जहाँ पुग्ने भक्तजनहरु आफ्नो लागि मात्र नभइ सारा गाउँलेका लागि बर माग्छन् । सुख, शान्ति र अमन चैनका लागि पूजा आरधना गर्छन ।

दाङको देउखुरी लमही नगरपालिका वडा नम्बर ६ खैरीमा रहेको दुमदुमा मन्दिरमा पुग्ने स्थानीयहरुले आफ्नो मनोकाँक्षा पुराहोस भन्ने भन्दापनि सारा गाउँका लागि आसिस माग्छन् ।

यो मन्दिरलाई स्थापना कालको सुरुमा डुम्ना मन्दिर भन्ने गरिन्थ्यो । तरपछि विस्तारै मन्दिरको नजिकै विद्यालय स्थापना गरियो । त्यसपछि त्यो विद्यालयको नाम दुमदुमा भयो । सोही विद्यालयकै नामबाट दुमदुमा भावानी मन्दिरले चिरपरिचित छ ।

सुन्दा अचम्म लाग्ने, तर, बास्ताविक । यो मन्दिरमा आफ्नो लागि बर नमागी समग्र गाउँकै लागि बर माग्ने प्रचलन छ ।
कुनै पनि मठ मन्दिरमा पुग्ने जो कोही सुरुमा आफ्नो मनोकाँक्षा पुरा होस् भनि बर माग्छन् । तर, दुमदुमा भवानीको मन्दिरमा भने गाउँमा कुनै विपत आइ नपरोस, सबैको घरमा सुख शान्ति मिलोस भनेर पूजा गरिन्छ ।

मन्दिरको वरपर खैरी, लङ्गढी, मध्यनगर, कश्यपुर र ढिकपुर गाउँहरु रहेका छन् । जहाँ थारु समुदायको बाक्लो बसोबास छ । लमही नगरपालिका पूर्व सिमाना सिङ्गेखोलादेखि पश्चिम जोगिया प्रगन्ना सम्मका चौविस मौजाहरु पूजा आरधनाको लागि त्यही दुमदुमा भवानी मन्दिरमा आउँछन् ।

स्थानीयका अनुसार गाधी, दैया र मैया किराहरु धानको बालिमा प्रकोपको रुपमा फैलिएपछि उक्त मन्दिरमा पूजापाठ गर्दा सबै किराहरु धानबाट हराउँछन् भन्ने जनविश्वास छ । स्थानीय शेरबहादुर चौधरीका अनुसार त्यो मन्दिरम पूजा गरेपछि धान तथा अन्य बालिमा लाग्ने किरा सबै हराउँछन् । विषादी छर्नु पर्दैन ।

दुमदुमा मन्दिर भित्र माटाका हात्ति, बाघ, घोडा र गरुढको मुर्तीहरु छन् । दुमदुमा मन्दिरमा दशैंको फूलपातिको दिन ठूलो पूजा हुन्छ । उक्त दिन रातिमा यहाँ मेला लाग्नुका साथै रातभर सांस्कृतिक कार्यक्रम हुने गर्छ । त्यो मेलामा प्रायजसो थारु नाच झुम्रा नाच, लठ्ठी नाच र बरका नाच हुने गर्दछ ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *