दाङ,वैशाख २१ । आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी चढेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा तल्लीन रहेका छन् ।
मंगलबार दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को लाकुरी डाँडामा आयोजित कार्यक्रममा अतिथि तथा उम्मेदवारहरूलाई स्वागत गर्न पुगेका स्थानीयवासी विजयोत्सवको आभास दिलाउने शैलीमा प्रस्तुत भएका थिए ।
कार्यक्रम देखि झण्डै आधा किलो मिटर अगाडि स्वागतका लागि तैनाथ रहेका स्थानीयवासीमा आशा र भरोसाको भाव देखिन्थ्यो भने उम्मेदवारहरूमा खुशी र उत्साहका रङ झल्किन्थ्यो ।
बाजागाजासहित स्वागत स्थलमा उपस्थित भएका स्थानीयवासीका हातमा माला र अबिर पनि थियो । उम्मेदवारहरूलाई टीका र माला लगाएर स्वागत गरिरहँदा संगीतको मिठो रस्वादन बाजागाजाले गराइरहेका थिए ।
गठबन्धन दलहरूले आयोजना गरेको चुनावी सभामा अतिथिलाई स्वागत गर्न उभिएका स्थानीयवासीले गठबन्धन पार्टीका झण्डा फहराइरहेका थिए ।
गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड), उप प्रमुखका उम्मेदवार भुपबहादुर डाँगी, वडा नं.१९ का वडाध्यक्षका उम्मेदवार ज्ञानबहादुर रायमाझी, हुकुमा घर्ती मगर, मञ्जु सुनार, खड्कबहादुर घर्ती मगर र जागेश्वर घर्ती मगरलाई स्वागत तथा सम्मान गरेका थिए ।