नेपालगञ्ज, बैशाख १९ । नेपाली कांग्रेस बाँकेले पार्टीका आधिकारिक उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण पार्टीपंक्तिलाई अपिल गरेको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका हुन ।
गौडेलले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आठ वटै पालिकाका पदाधिकारी एवं सदस्यहरु, ८१ वटै वडाका पदाधिकारी र सदस्यहरु, टोल समितिहरु, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य एवम् सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई त्यस्तो अपिल गरेका छन् ।
पार्टीका उम्मेदवारहरुलाई जिताउन इमान्दारीपूर्वक सक्रियताका साथ लाग्न आह्वान गर्दै इमान्दारीपूर्वक लागेका नेता कार्यकर्ताहरुको उच्च मूल्यांकन गरिने गौंडेलले उल्लेख गरेका छनव् ।
सभापति गौडेलले पार्टीका आधिकारिक उम्मेदवारहरुका विरुद्धमा लाग्ने कुनैपनि तहका पदाधिकारी वा क्रियाशील सदस्यहरुलाई पार्टीको विधान अनुरुप प्रमाणसहित सिफारिस भई आएमा विधानतः कारवाही गरिने चेतावनीपनि दिएका छन् ।