काठमाण्डौ,बैशाख १९ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।
आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताए ।
एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।
यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।
यस्तै आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता विपरीतको प्रचार सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ ।
आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा दलको झण्डा, उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने प्रावधान रहेको भन्दै त्यसो नगर्न भनेको छ ।
त्यसैगरी राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूबाट भए गरेका आचारसंहिता उल्लङ्घनका विषयमा आयोगको ध्यानाकर्षण भएको पनि सहायक प्रवक्ता अर्यालले बताए ।