दाङ,माघ १९ । दाङ तुलसीपुरस्थित तुलसी आवासिय बोर्डिङ स्कूलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर घाइतेको उपाचरामा सहयोग पुगोस भनेर आर्थिक साहेता गरेका छन् ।
रुकुमको सानीभेरी गाउँपालिका निवासी २१ बर्षीय वलीको उपचारमा सहयोग पुगोस भने विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको ६३ हजार तीनसय ७० रुपैंया शुक्रवार सहयोग गरेका हुन । सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल भिष्मबहादुर केसीको अध्यक्षतामा भएको हो । घाइते वलीले तुलसी बोर्डिङका पूर्व विद्यार्थी हुन । उनले उक्त विद्यालयमा कक्षा ५ सम्म अध्यन गरेका थिए ।
विद्युत प्राधिकरण तुलसीपुरका कर्मचारी वलीलाई गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा करेन्ट लाग्दा एउटा खुट्टा र दुबै हात गुमाएका थिए । विद्यार्थीले संकलन गरेको रकम बुझेपछि कृष्णकी आमा जानकी वलीले सहयोग गर्ने सबै विद्यार्थी र विद्यालय परिवारलाई धन्यबाद व्यक्त गरेकी थिइन ।संकलित रकमले घाइते कृष्ण वलीको लागि कृतिम हात र खुट्टा राख्ने योजना रहेको आमा जानकी वलीले जानकारी दिइन ।
त्यसका लागि कृष्णलाई विदेश लैजाने तयारी गरिएको उनले बताइन । हाईटेन्स लाईनको करेन्ट लागेर दुबै हात र एउटा खुट्टा गुमाएका वलीको उपचारका लागि विदेश वाट मात्रै करोड बढी रकम संकलन भइसकेको वलीको पारिवारीक स्रोतले जानकारी दिएको छ ।