
तुलसीपुर, बैशाख १२ । दाङमा बिभिन्न दलहरुले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरेका छन् । पञ्चेबाजासहित नाँच्दै गाउँदै दलहरु मनोनयन दर्ता गर्न पुगेका थिए ।
जिल्लाका प्रमुख सहरहरु घोराही र तुलसीपुरमा मनोनयन दर्ता गर्दा प्रमुख दलहरुले शक्ति पर्दन गरेको समेत देखियो । गाउँ गाउँबाट बसहरुमा मानिसहरु ल्याइएका थिए ।
पाँच दलिय गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरु मनोनयन दर्ता गराउन आउँदा यातायात ठप्प प्राय बनेको थियो ।
राप्ती राजमार्ग अन्तरगतको तुलसीपुरको मुख्य सडक तीन बजेदेखि लगभग बन्द प्राय बनेको थियो । त्यस्तै दृष्य घोराहीको अदालत रोडको पनि देखिएको थियो ।
पाँच बर्षपछि बैशाख ३० गते हुन थालेको स्थानीय तहको निर्वाचनलाई बिभिन्न राजनीतिक दलहरुले उत्सबको रुपमा लिएको देखियो । बिगतको निर्वाचन बहिस्कार गरेको बिप्लव नेतृत्वको नेकपाबाट समेत यसपटक निर्वाचनमा उत्साहप्रद रुपम सहभागिता जनाएको देखियो ।
आफ्नो पटक राम्रो रहेको र जित्ने संभावना रहेका जिल्लाका बिभिन्न पालिकाहरुमा बिप्लवका नेताहरुले मनोनयन दर्ता गराएका छन् । बिप्लव नेतृत्वको नेकपाका नेताहरुले पनि बिभिन्न पालिकाहरुमा बिभिन्न पदहरुमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । 
तुलसीपुरमा यसअघि तुलसीपुर खानेपानीका अध्यक्ष रहेका बिप्लबका नेता खेमराज वलीले उपमेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बिगतको पाँच बर्षमा नेकपा एमालेको सरकारले गरेका बिकृति बिसंगतिको अन्त्यका लागि आँफुले मेयरमा उम्मेदवारी दिएको बताए ।
गठबन्धनबाट तुलसीपुरको उपमेयरमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सोमबार तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका एमाले दाङका यसअघिका अध्यक्षसमेत टीकाराम खड्काले समाजको संबृद्धि, श्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधारका लागि आँफुले काम गर्ने बताए ।
तुलसीपुरमा एमालेबाट श्यानी चौधरीले उपमेयरमा उम्मेदवारी दिएकी छन् ।
त्यस्तै घोराही उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् ।
घोराहीमा एमालेबाट अहिलेका मेयर नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका दश पालिका मध्य अधिकाँस ठाउँमा निकै उत्साहका साथ मनोनयन दर्ता भएको छ ।