शंकर के सी,
सल्यान, माघ १८ । अती सुन्दर, एक सय आठ वटा झ्याल ढोका रहेको ५५ कोठे सल्यान फालावाङको पुतली दरबार । यो ऐतीहाँसिक दरबार अहिले तस्वीरमा मात्रै सिमित बन्न पुगेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा पर्ने फालावाङमा हिजो आज पनि मानिसहरु पुतली दरबार हेर्ने भन्दै मानिसहरु पुग्नेगर्छन् । तर उनिहरुले दरवारको भग्नावशेष बाहेक अन्य केहि देख्न पाउदैनन् । अहिले त दरबारको कुनै पनि नाम निसाना समेत देखिदैन ।
लक्ष्मीनारायण शाहका जेठा छोरा शम्शेर बहादुर शाहले १०९ बर्ष भन्दा पहिले बनाएको पुतलि दरबारमा ईट्टा मात्रै प्रयोग गरिएको थियो । दरवार छाउनको लागी जस्तापाता वेलायत बाट ल्याइएको थियो । दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठा, मोठ कोठा समेत निर्माण गरिएका थिए । दरवार परिसरमा कालिका र शिवालय मन्दिर पनि निर्माण गरिएको थियो । तर यी कुनै पनि संरचना अहिले देख्न सकिदैन ।
त्रिवेणी ४ फालावाङ रावत गाउँका बेद बहादुर रावतले विक्रम संवत् २०५२ साल सम्म दरबार रहेको भएपनि त्यस यताबाट दरबारमा प्रयोग गरिएका सामग्री चोरि हुन थालेको बताउँछन् । उनले भने, ‘रातारात दरबारका काठ, इटा, जस्ता पाता चोरि भयो । अहिले दरबारको कुनै नमुना समेत देख्न सकिदैन ।’
विशेष गरि द्वन्दको समयमा दरबारको संरक्षण हुन नसक्दा यस्तो स्थीती आइपरेको हो । दरबारमा कँुदिएका काठका झ्याल, ढोका, दलिन चोरि भएर दाङ तथा सल्यानको श्रीनगर सम्म पुगेको स्थानीय बेद बहादुरले बताए ।
फालावाङको ऐतीहाँसिक दरबार तहसनहस हुँदा अहिले त्यस क्षेत्रको पर्यटकीय विकासमा बाधा पुगेको छ । स्थानीय नरेन्द्र भण्डारिले भने, ‘यदि दरबार रहिरहेको भए यहाँ सयौँ पर्यटकहरु आउँथेहोला । यसबाट आम्दानी बढ्न गइ फालावाङको विकासमा कती टेवा पुग्थ्यो होला । तर दरबार संरक्षण हुन नसक्दा हामीलाइ ठूलो घाटा भएको छ ।’
स्थानीयका अनुसार विक्रम संवत् २०४८ सम्म रुद्रविर रावतले चौकीदारको रुपमा रहि दरबारको संरक्षण गरेका थिए । अहिले उनको मृत्यु भइसकेको छ । स्थानीयवासिले संरक्षणमा चासो र पहल नगर्दा दरबार तहसनहस भएको धेरैको बुझाइ छ । तर यसमा स्थानीयको कुनै दोष नरहेको बेद बहादुरले बताए । उनले भने, ‘वाहिर वाहिरका मानिसले रातारात आएर द्धन्दको समयमा दरबारका सामान चोरेर लगे । हामीले रोक्न खोज्दा मार्ने धम्की दिन्थे ।’
फालावाङ दरबारको ६५ रोपनी भन्दा बढि जग्गा रहेको बताइन्छ । यद्यपि दरबारको जग्गा पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएको छ । दरबारको पुनःनिर्माण गर्ने हो भने फलावाङ जिल्लाको मुख्य पर्यटकीय गन्तव्य बन्ने पक्का छ । दरबार पुनःनिर्माण संगै त्यहाँ रहेको मन्दिर, कोट र मौलिक संस्कृती वचाउन जरुरी रहेको छ । यसमा कर्णालि प्रदेश सरकारले पनि चासो दिएको जनाएको छ । स्थानीय तहले पनि फालावाङको विकासमा पहल थालिरहेको जनाएको छ ।
खासगरि फालावाङ सम्म पुग्नलाइ मोटरबाटोको सुविधा भएपनि स्तरोन्नतीको आवश्यकता खड्किएको छ । त्रिवेणिको लुहामबाट पनि दरबार रहेको फालावाङमा पुग्न सकिन्छ भने दाङ तुलसिपुरबाट पनि त्यहाँ पुग्न सकिन्छ ।
दाङ तुलसीपुर देखि १४ किलोमीटर यात्रा गरेपछि फलावाङ नजीकको लेक थर्कोटको फेद तुलसिपुर उपमहानगर ३ बल्लेमा पुग्न सकिन्छ । बल्लेबाट करिव आधा घण्टा उकालो चढेपछि थर्काेटमा पुगीन्छ । र पुतलि दरबार स्थलमा जान सकिन्छ । यस्तै कपुरकोटबाट पनि सिधै फालावाङ मोटरबाटोबाट गाडीमा पुग्न सकिन्छ ।
दरबार उठाउने पहल गर्दै स्थानीय सरकार
दरबार पुननिर्माणका लागी स्थानीय तहले पनि जोडदार पहल थालिरहेको जनाएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बुटवल टुडे संग कुरा गर्दै पुतली दरबार फेरि निर्माण गर्ने कुरा आफ्नो वशमा नभएपनि पर्याप्त पहल गरिएको बताए ।
उनले भने, ‘हामीले कर्णाली प्रदेश सरकार, संघीय सरकार तथा पुरातत्व विभागमा दरबार पुनःनिर्माणका लागी आधिकारिक रुपमा लेखेर अनुरोध गरिपठाएका छौँ । प्रदेश सरकारबाट पनि केहि बजेट विनियोजन भएको सुन्नमा आएको छ । आधीकारिक जानकारि छैन ।’
यद्यपि दरबार स्थल फालावाङ सम्म जोड्ने मोटरबाटोको स्तरउन्नती कार्य जारि राखेको अध्यक्ष डागीले जानकारि गराए । उनका अनुसार त्रिवेणीको केन्द्र लुहाम देखि फालावाङ र कपुरकोट देखि फलावाङ सम्म जोड्ने मोटरबाटो सुधार गरिएको छ । यस्तै दाङ तुलसिपुरदेखि मखनटाकुरि हुँदै फालावाङ जोड्ने मोटरबाटो पनि निर्माण भइरहेको छ ।