२०८१ भाद्र २३ गते आइतवार

तालिम लिन पाउँदा किसान खुसी

शिवु खनाल,
देउखुरी, माघ १७ । लमही नगरपालिका वडा नम्बर ६ छुट्कीमहारवाका मनिराम थापाले व्यवसायिक रुपमा बंगुर पाल्न थालेको आठ बर्ष भयो । तर, उनले बंगुर पालन व्यवसाय सम्बन्धि कुनैपनि तालिम भने लिएका थिएनन् । व्यवहारिक ज्ञान भएपनि कतिपय सैधान्तिक र प्राविधिक ज्ञान नहुँदा उनले यो बीचमा थुप्रै अप्ठेराहरु भोग्नु पर्यो ।

लमही नगरपालिका पशु सेवा उपशाखाले आयोजना गरेको तालिममा पहिलो पटक सहभागी भएपछि बल्ल उनले औषधी उपचारदेखि दानापानी कस्तो अवस्थामा कति र कसरी दिने भन्ने जान्न पाए । सन्तुलित दाना कसरी दिने,खोर व्यवस्थापन, सरसफाई लगाएतका अन्य विभिन्न आवश्यक ज्ञानहरु तालिममा सिक्न पाएपछि थापा मख्ख थिए ।

लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी शान्ता चौधरीको पनि वंगुरपालन कसरी गर्ने ? भन्ने सवालमा यो नै पहिलो तालिममा रहेछ । चौधरीले पनि तालिमबाट हालसम्म आफुले थाहा नपाएका थुप्रै कुराहरु जान्ने मौका पाएको बताइन ।

लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले कृषकलाई तालिम दिएर कृषि कर्मलाई व्यवसायिकरण गर्न सजिलो हुने हुँदा कुनैपनि व्यवसाय गर्नु पूर्व तालिम आवश्यक रहेको बताइन ।

‘अव नयाँ शैलिबाट अगाडि बढाउन आवश्यक छ,’ बेलवासेले भनिन् ‘परम्परागत कृषि प्रणाली गुजरामुखी मात्रै छ।’
कृषिलाई समय सापेक्षरुपमा आधुनिकरण गर्दै व्यवसायिक खेति गर्न सकेको खण्डमा आमदानी लिने सकिने उनले बताइन । लमही नगरपालिकाले विभिन्न शिर्षकमा तालिम सञ्चालन गर्नुको प्रमुख कारण कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाउनु मात्रै रहेको उनको भनाई छ ।

त्यस्तै लमही नगरपालिका प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले कृषकलाई तालिम लिइ सकेपछि आफ्नो व्यवसायमा नजिता मुखी बन्न आग्रह गरे ।

तालिममा लमही नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर वडाबाट तीन तीन जनाका दरले कृषकको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने थिए ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *