२०८१ बैशाख १४ गते शुक्रवार

शान्तिनगरमा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड सुरु

राजेश खत्री,
शान्तिनगर, माघ १६ । दाङको शान्तिनगर गाउँपालिकामा बुधवारदेखि दोस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता र प्रदेश नं. ५ का कानुनमन्त्री कुलप्रशाद केसी (सोनाम)को प्रमुख आथित्यमा कार्यक्रमको उद्घाटन भएको हो ।

उद्घाटन पछि सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री केसीले खेलकुदलाई संबृद्धिको प्रतिको रुपमा विकास गर्न आवश्यक रहेको बताएका थिए । खेलक्षेत्रको विकास र प्रवद्र्धनले मात्रै मुलुकको संवृद्धि संभव हुने उनको तर्क छ । तर त्यसका लागि दक्ष खेलाडी र उपयुक्त खेल मैदान निर्माण गर्न आवश्यक रहेको उनले बताए । खेल क्षेत्रको विकास लागि एक स्थानीय तह एक खेल मैदान निर्माण गर्ने अवधारणा सहित सबैलाई ३०÷३० लाख बजेट सरकारले छुट्याएको मन्त्री केसीले जानकारी दिए ।

प्रदेशलाई खेलकुद क्षेत्रको हवका रुपमा स्थापित गर्न प्रदेश सरकारका १२ वटै जिल्लामा योजनाबद्ध विकास गरिने उनले बताए ।

शान्तिनगरमा जारी अध्यक्ष कप प्रतियोगिताले दाङको कर्णाली प्रदेश भनेर चिनिने पश्चिम दाङको विकासमा ठूलो टेवा पुग्ने मन्त्री केसीले दाबी गरे । स्थानीय तह, स्थानीयवासी र अन्य सरोकारवाला खेलक्षेत्रको विकासका लागि एकतावद्ध रुपमा लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री केसीले संघीय संरचना निर्माण सँगै मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गर्दै समृद्धिको चाहानालाई बर्तमान सरकारले सार्थक तुल्याउन कुनै कसर बाँकी नराख्ने जिकिर गरे । स्थानीय, प्रदेश र संघीय सरकार त्यही विकासका लागि हातेमालो गरेर अगाडि बढेको उनको कथन थियो । तीन वटै सरकारले हाल सुशासनको अभ्यास गरिरहेको बताएका उनले अनियमितता गरे तीन वटै सरकार मध्य कसैले कसैलाई नछोड्ने दाबी गरे । ‘प्रदेशले गल्ती गरे स्थानीयले छोड्दैन र संघले गल्ती गरे मिडियाले छोड्दैन,’ मन्त्री केसीले भने । उनले बास्तविक रुपमा सिंहदरवार गाउँ गाउँमा आएको हुँदा त्यसलाई सफल रुपमा कार्यान्वय गर्न सबैले इमान्दारी पूर्वक काम गर्नुपर्ने बताए ।

त्यस्तै उनले पाँच वर्षभित्र निर्वाचनका क्रममा घोषणा पत्रमा लेखेका सबै कुरा जसरी भएपनि पुरा गर्ने उनले बताए । ‘ ५ बर्षभित्र हामीले गरेको वाचा अनुरुप बृद्ध भत्ता जसरी भएपनि ५ हजार पु¥याउने छौं,’ मन्त्री केसीले भने ‘ शिक्षा, स्वास्थ्य, खानेपानी सबैमा त्यही अनुरुप काम हुने छ।’ उनले ५ बर्षमा प्रदेश नं. ५ का ५० लाख जनतालाई खुसी राख्ने गरि योजना तय गरिएको तथा कसैले भोको नवस्ने गरि कानुन बनाउन लागेको बताएका थिए ।

फरक प्रशंगमा उनले ५ नं. प्रदेशलाई नेपालकै नमुना प्रदेशको रुपमा विकास गरिने बताएका थिए ।

सबैले दिपावली गर्नेगरि राजधानी घोणा गर्ने दाबी
फरक प्रशंगमा मन्त्री कुलप्रशाद केसी(सोनाम)ले प्रदेशको स्थायी राजधानी घोषणा भएको दिन प्रदेशका सबै जनताले भव्य उत्सव मनाउने दाबी गरे ।

उनले ५ नं. प्रदेशको स्थायी मुकाम र नाम अरु सबै भन्दा सुन्दर बनाउने जिकिर पनि गरे । स्थायी राजधानी घोषणा गर्दा १२ जिल्लामा मान्ने सदस्यहरु शुक्रवार पठाउने उनले बताए । तर,उनले फरक आस्था राख्ने राजनीति पार्टीले यसलाई खेल्ने र राजनीति गर्ने माध्यम बनाउन खोजेको भन्दै असन्तुष्टि पोखे । ५ नं. प्रदेशको भविस्य संग ठूलो शक्ति केन्द्रहरु खेल्ने वातावरण नवनोस भनेर बढा सचेत हुनु आवश्यक रहेको मन्त्री केसीले बताए ।

कार्यक्रम प्रदेशसभा सदस्य उत्तरकुमार वलीले पश्चिम दाङ विकासका दृष्टिले पछि परिरहेको हुँदा स्थानीय , प्रदेस र संघीय सरकार योजनाबद्ध रुपमा विकासे एजेण्डा अगाडि बढाउनु पर्ने बताए । त्यसका लागि प्रदेश सरकारमा पश्चिम दाङको प्रतिनिधित्व गर्दै आफुले निरन्तर संघर्ष गर्दै आइरहेको उनले बताए ।

कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेकपाका भिमबहादुर वली, नेपाली काँग्रेसका लोकमणि रेग्मी, जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगी, शान्तिनगर गाँउपालिका उपाध्यक्ष मिथिला शाह , प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसी र वडा नंं ७ का वडा अध्यक्ष पिमलाल वलीलगायतकाले मनतव्य व्यक्त गरेका थिए । शान्तीनगर गाँउपाकिला वडा नंं ४ का वडा अध्यक्ष धनबहादुर केसीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका प्रवक्ता रवि बुढाथोकीले गरेका हुन । तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितमा करिव एक दर्जन विद्यालयहरुको सहभागिता रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *