शरद रेग्मी,
तुलसीपुर १५ माघ ।
झन्डै दुई महिनादेखि एकै ठाउँमा सर्प देखिदै आएपछि त्यसलाई नाग देवता भन्दै महायज्ञ लगाउने तयारी गरिएको छ । नाग प्रकट भएको स्थान तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरी स्थित पशुपती टोलमा स्वर्णिम श्रीमद्धभागवत महायज्ञ लगाउने तयारी तीव्ररुपमा भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मंगलवार रिपोटर्स क्लव दाङमा पत्रकार सम्मेलन गरेर माघ २३ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ लगाउने तयारी तीव्र रुपमा भइरहेको जानकारी दिइएको हो ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष पदम केसीले बसन्त पञ्चमीको अवसर पारेर नाग प्रकट भएको स्थानमा कैलासधाम नागेश्वर मन्दिर निर्माण र जग्गा जमिनको व्यवस्थापन गर्ने उद्देश्यले स्वर्णिम श्रीमद्ध भागवत भक्ति सत्सगं महायज्ञको आयोजना गर्न लागेको जानकारी दिए ।
समितिका सचिव दामोदर न्यौपानेले महायज्ञबाट एक करोड दान संकलन गर्ने लक्ष्य राखिएको बताए । नाग प्रकट भएको स्थानमा ५ जना व्यक्तिहरुको जग्गा पर्ने भएकाले उक्त स्थानमा नागेश्वर मन्दिर निर्माण गर्नका लागि महायज्ञ सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । नागेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनसिंह चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । तर वन्यजन्तु विशषेज्ञले भने त्यो नागदेवता नभइ सर्प भएको बताउँदै आएका छन् ।
हेर्नुहोस भिडियो