घोराही, १५ माघ ।
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आधारभूत कानूनहरु यसै बर्षभित्रमा बनि सक्ने बताएका छन् । घोराही उपमहानगरपालिकाको ४१औँ नगर स्थापना दिवसलाई मंगलबार घोराहीमा सम्बोधन गर्दै कानुन मन्त्री केसीले आधारभूत कानूनहरु यसै बर्षमा बनाउँदै तीन तहमा देखिने कानूनी जटिलताहरुको अन्त्य हुने बताए ।
कानून निर्माण गर्दै समृद्ध प्रदेश, खुशी जनताको नारालाई पूरा गर्न पाँच बर्षमा पाँचवटा महत्वपूर्ण गौरवका योजनाहरुलाई पूरा गर्ने समेत मन्त्री केसीको भनाइ छ । इतिहासमा सम्झन लायक काम गर्ने योजनाका साथ प्रदेश सरकार अघि बढेको भन्दै उनले १२ वटै जिल्लाका स्थानीय तहहरु हातेमालो गरेर अघि बढ्ने उल्लेख गरे ।
साथै कानुनमन्त्री केसीले प्रदेशको स्थायी राजधानी र नाम प्रदेशसभाबाटै उद्घोष गर्ने बताए । कुनै पनि क्षेत्रका नागरिकहरु सडकमा आउने अवस्था नदिने उल्लेख गर्दै मन्त्री केसीले सदनबाटै जनमतको कदर गर्ने बताए । १२ वटै जिल्लामा एकसाथ दिपावलीको वातावरण ल्याउन आफूहरु लागेको भन्दै सुन्दर नाम र ठाउँकै विषयमा समिति आन्तरिक गृहकार्यमा रहेको उल्लेख गरे ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री केसीले घोराही उपमहानगरपालिकाले थालेको विकासका परिकल्पना पूरा गर्न प्रदेश सरकार सहयोगी बन्ने बताए । साथै उनले प्रदेश नम्बर ५ भित्रका जिल्लाहरुमा कुनै पनि जोखिमहरुलाई हटाउन सर्वेक्षण गरी सिसी क्यामेराबाट निगरानी गर्ने योजना कार्यान्वयन हुन लागेको समेत जानकारी दिए ।
नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले अबको विकास जनताकै हातमा रहेको बताए । त्यसैगरी, कार्यक्रममा बोल्ने बक्ताहरुले नगरको चौतर्फी विकासका लागि आवश्यकतामा आधारित योजना कार्यक्रममा जोड दिएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुवास पुन, नेपाली काँग्रेसका सचिव शंकर डाँगी, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, पूर्व उपप्रमुख दामोदर अधिकारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले नगरको स्थापना दिवसका अवसरमा शुभकामना दिदै हातेमालोबाटै नगरको समृद्धिमा लाग्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण नगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले गरेका थिए ।