२०८३ असार २७ गते शनिवार

शंकर पोखरेलले भने – टरिगाउँ एयरपोर्ट काँग्रेसकै कारण नबनेको हो

तुलसीपुर, चैत २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट नेपाली काँग्रेसका कारण नबनेको बताएका छन् ।


बुधवार तुलसीपुर – ६ स्थित मावि सेन्टर भवन र तरकारी तथा फलफूल बजारको उद्घाटन पछि सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले टरिगाउँ एयरपोर्टको विकाश तथा विस्तारको बारेमा नेपाली काँग्रेसले राजनीति गरि रहेको दोषारोपन गरेका हुन ।


तुलसीपुर एयरपोर्टको विस्तार र विकाशको योजना पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीको पालाका आएको दाबी गरेका उनले केपी ओलीको सरकार हटिसकेपछि एयरपोर्ट नबनाउन काँग्रेसका नेताहरुले भूमिका खेलेको बताएका हुन ।

‘ ओली हटेपछि निरिक्षण गर्नका लागि काठमाडौंबाट प्राबिधिक टोली आएको र त्यतिखेर नेपाली काँग्रेसका नेताहरु लाम लागेर एयरपोर्ट देखाउन गए,’ पोखरेलले भने ‘ तर, त्यसपछि प्राबिधिकहरुले तुलसीपुरमा ठूलो बिमानस्थल बनाउन संभव नभएको भनेर रिपोर्ट तयार पारेको हो । यसले काँग्रेसले नै तुलसीपुरमा एयरपोर्ट बनाउन नचाहेको पुष्टि गर्छ ।’

जतिखेर पर्यटन मन्त्रीका रुपमा जीवनबहादुर शाही र सिंचाई मन्त्रीका रुपमा दीपक गिरी एयरपोर्टको डिटेल सर्भे गराउन भन्दै काठमाडौंबाट प्राबिधिक टोलीसहित एयरपोर्ट गएका थिए । पोखरेलले उनीहरुलाई नै लक्षित गरि काँग्रेसकै नेताहरुले एयरपोर्ट बनाउन नचाहेको दोषारोपन गरेका हुन ।

तैपनि आँफूहरुले घाँस उम्रेको एयरपोर्टलाई जहाज चल्ने एयरपोर्टको रुपमा परिणत गरेको पोखरेलले दाबी गरे ।


त्यस्तै अहिले भइरहेको इन्धन डिपो स्थापनाको काम पनि एमालेकै पहलमा भएको उनले दाबी गरे । ‘ एयरपोर्टको विकाशको सवालमा काँग्रेस एउटा केही काम गरेको देख्नु भएको छ,’ एमाले महासचिव पोखरेलले भने ‘काँग्रेसले सक्छ भने अहिले तुलसीपुरमा ठूलो एयरपोर्ट बनाउन संभव छैन भन्ने रिपोर्ट सच्याएर देखाउन सक्नु पर्छ ।’

टरिगाउँ एयरपोर्ट विस्तार र विकाशको सवालमा एमाले बाधक रहेको भनेर काँग्रेसले राजनीति गर्दै आएको उनले बताए ।

तर, दाङको समग्र विकाशका सन्दर्भमा भविश्यका लागि ठूला बिमान अवतरण गर्ने खालको एयरपोर्ट आवश्यक पर्ने हुँदा नारायणपुरमा बिमानस्थल बन्न आवश्यक रहेको उनले चर्चा गरे ।

घोराही क्षेत्र निर्वाचन क्षेत्र नं.२ बाट चुनाब लड्दा घोराही–१० मा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको कुरा पोखरेल र कृष्णबहादुर महाराको मुख्य चुनाबी नारा थियो ।

चारलेन सडकमा मेयरका छोरा अनुपको गरे बचाउ

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले अलपत्र अवस्थामा पुगेको तुलसीपुर–घोराही साढे २८ किलोमिटर चारलेन सडक निर्माणमा तुलसीपुर मेयर घनश्याम पाण्डे र उनका छोराको बचाउ गरे ।

जुन सडक निर्माणको जिम्मा सुरुमा पेटी ठेकेदारका रुपमा मेयरका छोरा अनुप पाण्डेले लिएका थिए । सोही सडक निर्माणको काममा झन्डै ६ करोड जति ठगी गरेको भन्दै बिभिन्न ब्यक्तिले प्रहरी प्रशासनमा पाण्डे बिरुद्ध मुद्दा दायर गरेका थिए ।


पछिल्लो समय एमाले जिल्ला कमिटी सदस्य तथा घोराही उपमहानगरका इञ्चार्ज गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि अनुपलाई प्रहरीले पक्राउ गर्नुका साथै दुई हप्ता थुनामा परेका थिए ।


जस्ले गर्दा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेयर पाण्डे र उनका छोरा अनुपको मात्रै हैन एमालेको समेत ब्यापक आलोचना भइरहेको छ ।


त्यसैको प्रतिरक्षाका लागि महासचिव पोखरेलले मेयर घनश्याम पाण्डेका छोरा अनुपले ठेक्का लिएको नभइ सहजीकरणको भूमिका मात्रै निर्वाह गरेको भन्दै एमालेले चार लेन बनाउन दिएन भन्नु गलत भएको बताए ।


‘अहिले उहाँले सहजीकरणको जिम्मेवारीपनि छोडीसक्नु भएको छ, पोखरेलले भने ‘ अब अनुप पाण्डेसंग चारलेन सडक निर्माणको कुनै सम्बन्ध छैन ।’


तुलसीपुर–घोराही चार लेन सडक निर्माणको जिम्मा केन्द्र सरकारको भएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम पुरा गर्न माग गरे । चारलेनमा धुलो उडाउनेहरुको नैतिक जिम्मा सरकारले लिनुपर्ने उनले तर्क गरे ।

त्यस्तै यदी निर्माणको जिम्मा लिएको ठेकेदारले काम गर्दैन भने ठेक्का रद्द गरेपनि एमालेलाई कुनैपनि आपत्ति नहुने महासचिव पोखरेलले बताए ।
‘ आँफुले काम नगर्ने दोष जति नेकपा एमालेलाई लगाउने तर केन्द्र सरकारमा आँफुले हालीमुहाली गर्ने,’ पोखरेलले प्रश्न गरे ‘ जस्ले काम गर्ने हो त्यस्ले नगर्ने र त्यसको आरोप अर्कालाई लगाउन मिल्छ ?’

त्यस्तै महासचिव पोखरेलले आफ्नो पालामा जिल्लामा दर्जनौं पुल, पानी भण्डारण्का लागि जलासय, राप्ती राजमार्गको स्तरउन्नती र दाङ सुर्खेत सडक खण्ड जस्ता थुपै सडक निर्माण भएको चर्चा गरेका थिए ।

दुई बर्ष पहिले देखि सञ्चालन रहेको शब्जिमण्डीको उद्घाटन

पोखरेलले दुई बर्ष पहिले नै निर्माण भइ सञ्चालन हुँदै आएको तुलसीपुर सब्जिमण्डीको उद्घाटन गरेका छन् ।


पहिले तुलसीपुर उपमहानगरको सम्मुखमा रहेको सब्जिमण्डी स्थान्तरण गरि मावि सेन्टरको जग्गामा निर्माण गरिएको छ ।
तरकारी तथा फलफूल बजार निर्माण कार्य २०७६ साल मंसिर ८ गते पुरा भएको थियो । त्यसयता त्यहाँ तरकारी तथा फलफूलका ब्यापार ब्यबसाय हुँदै आएको छ ।


२०७५ साल असार २१ गतेदेखि बजार निर्माणको काम सुरु भएको थियो । करिब दुई करोड साढे ३५ लाखमा निर्मित तरकारी तथा फलफूल बजार नीजि सरकारी साझेदारीमा निर्माण भएको हो ।

जस्मा ब्यबसायीको एक करोड ३३ लाख र सरकारको एक करोड साढे २४ लाख बढी लगानी छ । तरकारी तथा फलफूल कृषि बजार ब्यबस्थापन समितिका सचिव झुपलाल खड्काले ३८ सटरहरु मध्य १७ वटामा तरकारी, १९ वटामा फलफूल, एउटा सटर कार्यालय प्रयोजन र अर्को एउटा सटरमा चमेना गृह सञ्चालन हुँदै आएको कार्यक्रममा जानकारी दिए ।


तरकारीको ब्यापार दैनिक साढे तीन लाख र फलफूलको पाँच लाखसमेत गरि दैनिक आठ लाख बराबरको कारोबार भइ रहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *