२०८२ जेष्ठ ३० गते शुक्रवार

हावा गफले ‘घुम्न जाउँ तुलसीपुर अभियान’ बिफल

तुलसीपुर,चैत २१ । प्राकृतिक सुन्दरताले भरिपुर्ण एसिया महादेशकै ठूलो उपत्यका हो दाङ । त्यसभित्रको एउटा बजार तुलसीपुर हो ।

जस्लाई नेपालकै स्मार्ट सिटी बनाउने भनेर मेयर घनश्याम पाण्डेले गत निर्वाचनमा भोट मागेका थिए ।
तर, उदेश्य अनुरुपको काम भने भएन ।

करिब ५ वर्षको अवधिमा केही क्षेत्रहरुमा परिवर्तन आएपनि आर्थिक आयआर्जनको मुख्य पाटो पर्यटन गतिहिन अवस्थामा छ ।

जसका कारण स्थानीयसगै बाह्य पर्यटकहरु भित्रयाउन तुलसीपुर उपमहानगरपालिका असफल बन्न पुग्यो ।

त्यसमा कोरोना संक्रमणको प्रभाव रहेपनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्य र त्यही उदेश्य पुरिपुर्ति गर्न बिनियोजन गर्नुपर्ने आर्थिक पाटो निकै कमजोर देखियो ।

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटन शिर्षक उल्लेख गरेपनि त्यसलाई बेवास्ता गरेको देखिएको छ । पर्यटन प्रबद्र्धनका लागि बजेट एकदमै न्युन मात्रामा छुट्याएको छ ।

तुलसीपुरले पर्यटन क्षेत्रमा प्रयाप्त बजेट बिनियोजन नगर्दा यहाँका पर्यटकीय स्थलहरु सोचे अनुरुप व्यवस्थित बन्न सकेनन् ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा ३ अर्व ३९ करोड ९६ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

त्यसमध्ये पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख गरिएको भएपनि दूई वटा शिर्षकमा मात्र ४ लाख बजेट बिनियोजन गरेको तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखा प्रमुख यसोदा वलीले जानकारी दिइन ।

चालु आर्थिक वर्षमा परम्परागत साहित्यकला,नृत्यकला,लोकगीत संरक्षण विकास, वार्षिक प्रतियोगिता कार्यक्रमका लागि दुई लाख र होमिष्टे कोशेलीघर व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि दुई लाख गरि जम्मा चार लाख रुपैंया मात्र बजेट छुट्याइएको छ ।

‘यो बजेट पर्यटन क्षेत्रलाई उत्साही बनाउने किसिमको हुँदै होइन,’ उनले भनिन् ‘बजेटले पर्यटनको क्षेत्रलाई वेवास्ता गरेको देखिन्छ ।’
बजेट अभावका कारण सबै क्षेत्रमा कम बजेट छुट्याएको जिम्मेवार पदाधिकारी जबाफ दिन्छन् ।

यस क्षेत्रको पर्यटन विकासका लागि छुट्याइने बजेट गत वर्षको तुलनामा यसवर्ष तेब्बरले घटाइएको छ ।

जसका कारण पर्यटकीय क्षेत्रका नागरिकहरुले अपेक्षा गरे अनुरुपको काम हुँदै भएन । त्यसैले अहिलेपनि तुलसीपुरका थुप्र्रै क्षेत्र स्मार्ट सिटीको पहुंँच बाहिर छन ।

आम नागरिकलाई यतिखेर मेयर पाण्डेले बारम्बार भन्ने गरेको ‘स्मार्ट सिटी’को परिकल्पना सपना जस्तै बनेको छ ।

चालु आर्थिक वर्षको विनियोजित रकमबाट अन्य जिल्लाबाट तुलसीपुर आउने पाउनाहरुका लागि विभिन्न स्थानमा स्वागत बोर्ड स्थापना गरिएको छ ।

तुलसीपुरलाई चिनाउनका लागि उपमहानगरपालिकामा सूचिकृत भएका १२ वटा पर्यटकीय स्थल तथा होमस्टेहरुको छायाङ्कन भइसकेको छ । तीनको भिडियो बनाइएको बताइन्छ । तर, सार्वजनिक भइ सकेको छैन ।

यो बीचमा तुलसीपुर क्षेत्रभित्रका साहित्यकला तथा लोकगीतको वार्षिक प्रतियोगिता कार्यक्रम र नृत्य कार्यक्रम गरिएको पर्यटन शाखा प्रमुख वलीले जानकारी दिइन ।

बजेट अभावकै कारण मेयर पाण्डेले भने अनुसार ‘तुलसीपुरलाई पर्यटनको हवको रुपमा विकास गर्ने र घुम्न जाउँ तुलसीपुर अभियान’ ओझेलमा परेको जानकारहरु बताउँछन् ।

स्थानीय तह अर्थात सिंहदरवार गांउँ आएको करिब ५ वर्ष वित्नै लाग्दा यहाँका आम नागरिक समृद्ध गाउँ,समृद्ध टोल बन्ने आशाका साथ सपना बुनेर बसेकाहरु अहिले निरास छन ।

कुनैपनि देश,ठाउँ वा नगर आर्थिक रुपमा समृद्ध बन्नका लागि त्यस क्षेत्रको पर्यटकीय क्षेत्र महत्वपुर्ण हो । तर पनि तुलसीपुर उपमहानगरपालिकालदे यस तर्फ खासै ध्यान नै दिएको देखिएन ।

गफ ठूला र काम केही नगर्ने प्रबृतिका कारण घुम्न जाँउ तुलसीपुर अभियानले हावा खाएको एक जना आलोचकले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *