
रोल्पा,चैत १५ । रोल्पा नगरपालिकाको गौरवको योजना जनयुद्ध स्मृति भ्यु टावरलाई ठेक्कामा दिने तयारी भएको छ ।
हिजो सोमवार माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको भ्यु टावरलाई नियमित सञ्चालनका लागि टेन्डरमार्फत वार्षिक २४ लाख रुपैयाँमा ठेक्का दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
६ करोड १० लाख ६५ हजार रुपैयाँको लगानीमा निर्माण भएको भ्यु टावरले यस क्षेत्रमा रहेको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले अपेक्षा गरेको छ ।
भ्यु टावरलाई मासिक दुई लाख रुपैयाँका दरले ठेक्कामा कुनै कम्पनीलाई चलाउन दिने तयारी भइरहेको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिए ।
‘भ्यु टावरको रेखदेखसहित सञ्चालन र नगरको आम्दानीलाई दिगो बनाउन कुनै कम्पनीलाई दिने तयारी भइरहेको छ’, नगर प्रमुख केसीले भने, ‘त्यसका लागि हामी केही दिनमै सूचना निकाल्छौँ ।’
नगरपालिका आफैँले सञ्चालन गर्दा व्यवस्थापनमै धेरै रकम खर्च हुने देखिएपछि ठेक्कामा दिन लागिएको हो । ठेक्कामा दिँदा नगरपालिकालाई वार्षिक २४ लाख रुपैयाँ खुद आम्दानी हुनेछ भने अन्य नाफा वा घाटा जिम्मा लिने कम्पनीले बेहोर्ने छ ।