
दाङ, चैत ५ । प्यूठान बस दुर्घटनामा परि दाङ घोराहीकी एक बर्षीया शिशुको मृत्यु भएको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले घोराही उपमहानगरपालिका वडा नं. १ की १ बर्षीया अंशु परियारलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याए लगतै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
थप १५ जना घाइतेलाई उपचारका लागि प्रतिष्ठान ल्याइएको र अन्यलाई पनि ल्याउने क्रम जारी रहेको डिएसपी रिजालले बताए ।
प्यूठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइते मध्य २० जनाको अवस्था गम्भीर रेहेको जानकारी दिए ।
प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार बिहान साढे १० बजेतिरको दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परि ३० जना जति यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
