२०८१ फाल्गुन ७ गते बुधवार

महायज्ञमा एक करोड ८६ लाख संकलन


घोराही, ११ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा सकिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ २०७५ मा एक करोड ८६ लाख दान संकलन भएको छ । महायज्ञमा करिब १ करोड ८६ लाख दान संकलन भएको निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले जानकारी दिए । दान दिने क्रम जारी रहेकाले वास्तविक आम्दानी र खर्च छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

महायज्ञको एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । आयोजक मूल समितिका संयोजक विमला योगीको अध्यक्षता एवं प्रदेश सांसद अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता महायज्ञले ठूला–ठूला परिवर्तन गर्न सम्भव हुने बताए । उनले शैक्षिक, स्वास्थ्य एवं सामाजिक क्षेत्रको परिवर्तनका लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै यसले मानिसलाई धार्मिक एवं आध्यात्मिक ज्ञान पनि दिन सहयोग पुगेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद एवं महायज्ञका संरक्षक अमरबहादुर डाँगीले सेवा मावि बनगाउँको शैक्षिक एवं भौतिक विकासका लागि यो महायज्ञ आधारस्तम्भ बनेको बताए । उनले यस्ता महायज्ञले समाजलाई परिवर्तन गर्न सक्ने पनि बताए । कार्यक्रममा बोल्दै महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले महायज्ञ सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । महायज्ञ आायोजक मूल समितिका संयोजक विमला योगीले सबै व्यक्ति र क्षेत्रको सहयोगले विद्यालयको सपना पूरा हुने संकेत देखिएकाले निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुलीले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाल्मी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आरके शीतलले गरेका थिए । उक्त अवसरमा मुख्यवाचक बाल योगेश्वर महाराजलगायत सहवाचक, उपवाचक एवं कलाकारहरुको टोलीलाई मायाको चिनोसहित बिदाइ गरिएको थियो ।

बुढाथोकी परिवारद्वारा साढे २६ लाख दान

बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा घोराहीको एक परिवारले २६ लाख बढी दान गरेको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ २०७५ मा घोराही उपमहानगरपालिका वडा नम्बर १३ सेवार निवासी बुढाथोकी परिवारले २६ लाख ११ हजार १ सय ५५ रुपैयाँ दान गरेका हुन् । महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीको परिवारले उक्त रकम दान गरेको बताए ।

उक्त रकम यस महायज्ञको सर्वाधिक दान हो । स्वर्गीय हजुरबुवा खिमबहादुर बुढाथोकी, स्वर्गीय हजुरआमा ललीता बुढाथोकी, स्वर्गीय लोकसिं बुढाथोकी, स्वर्गीय यज्ञबहादुर बुढाथोकी र नरेश बुढाथोकीको स्मृतिमा विजया बुढाथोकी, रीता बुढाथोकी, ओमभक्त बुढाथोकी, शान्ता बुढाथोकी, भरत बुढाथोकी, ईन्दिरा बुढाथोकी, ईञ्जिनियर तर्कबहादुर बुढाथोकी, पुनम बुढाथोकी, प्रा.अर्जुनकुमार बुढाथोकी, गीता बुढाथोकी, सरद बुढाथोकी, प्रमीता बुढाथोकी, पारु बुढाथोकी, मनोज बुढाथोकी, आशा बुढाथोकी, प्रशान्त बुढाथोकी, चेतना बुढाथोकी, प्रज्वल बुढाथोकी, सिर्जना बुढाथोकी, विनय बुढाथोकी विभु बुढाथोकी, सिए अभ्यास बुढाथोकी, सुभम बुढाथोकी, डा.विक्रम बुढाथोकीलगायत बुढाथोकी परिवारले महायज्ञको आठौँ दिन बिहीबार उक्त रकम दान गरेका हुन् ।

महायज्ञमा आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका १३ का विमला गिरीको परिवारले १२ लाख ५१ हजार रुपैयाँ दान गरेका छन् । स्वर्गीय हजुरवुवा रणु गिरी, हजुरआमा तुलसा गिरी, स्वर्गीय ससुरा शुभान गिरी, सासु मीना गिरी र स्वर्गीय वुवा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उनको श्रीमान वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा.अञ्जु गिरी, ईञ्जिनियर आस्था गिरी र छोरा अवनिस गिरीले दान गरेका हुन् ।

यस्तै युवा व्यवसायी घोराही उपमहानगरपालिका वडा नम्बर १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । स्वर्गीय आमा खड्गकुमारी खत्री र स्वर्गीय बुबा लोकबहादुर खत्रीको स्मृतिमा छोरा दुर्लभ केसी र बुहारी सुम्नीमा केसीले उक्त रकम दान गरेको आर्थिक समितिका संयोजक भूपाल गिरीले जानकारी दिए । महायज्ञमा बिहीबार एक करोड दीप प्रज्ज्वलन गरिएको थियो भने शुक्रवार १ हजार ८ कन्या पूजा गरिएको छ ।

आयोजकद्वारा धन्यवाद ज्ञापन

बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा माघ ३ गतेदेखि शुक्रबारसम्म सञ्चालित सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा आयोजक मूल समितिले धन्यवाद दिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ २०७५ सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण दानवीर, आयोजक मूल समिति, समिति, उपसमितिका संयोजकज्यूहरु, उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, स्थानीय तह, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था, सामजिक संघसंस्था, विद्यालयहरु, पत्रकारहरु, महिला संघसंगठन, मानवअधिकारकर्मी, सुरक्षा निकाय, पण्डितज्यूहरुलगायत सम्पूर्णमा धन्यवाद दिएको छ । महायज्ञ सम्पन्न भएपश्चात आयोजक मूल समितिका संयोजक विमला योगीको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेको हो ।

 

 

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *