दाङ, १० माघ ।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल (बलदेव) ले कृषि क्षेत्रको विकासको लागि योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कृषिलाई अगाडि बढाउनका लागि योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको छ । कृषि क्षेत्रमा अहिलेसम्म प्रभावकारी योजना निर्माण हुन नसकेको समेत बताए । नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको उनको भनाइ रहेको छ ।
नेपालमा ६६ प्रतिशत नागरिक कृषिमा आवद्ध भएपनि यसको विकास हुन नसकेको उनको भनाइ छ । ‘दुई तिहाइ जनसंख्या कृषिमा आवद्ध हँुदा पनि बाहिरबाट पनि आयात गर्नुपर्ने बाध्यता रहेको छ’ मन्त्री खनालले भने । कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने मन्त्री खनालको भनाइ रहेको छ । यसका लागि आफू लागिपरेको समेत बताए ।
कृषि क्षेत्रको विकास गर्ने सकिएमा विदेशिएका युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सकिने बताए । ‘कृषि क्षेत्रको विकास गर्न सकेमा विदेशिएका धेरै युवाहरुलाई रोजगार दिन सकिन्छ’ मन्त्री खनालले भने । कृषकहरुको हातसम्म अनुदान पु¥याउनुपर्ने बताए । वास्तविक कृषकहरुको हातमा अनुदान पु¥याउन आफूहरु अगाडि बढेको समेत बताए ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का उपाध्यक्ष हेमराज बन्जाडे, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, नागरिक समाजका दाङका अध्यक्ष तथा संघका पूर्व अध्यक्ष चन्द्रराज पन्त, व्यवसायी श्रीधर पोख्रेल, भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा वेदबहादुर केसी, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर बुढाथोकीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष बसन्त जोसीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन् ।