२०७७ मङ्सिर ११ गते बिहिवार

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

तेह्रथुम,  माघ ८ ।  जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रजिअ लक्ष्मीदेवी हुमागार्इंले बताइन । छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रुपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै शल्यक्रिया गरेर बच्चा जन्माइएको र आइसियुमा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको अस्पतालका चिकित्सक आनन्द देवले बताए । लिम्बूको शल्यक्रियापछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो ।

अस्पतालमा ब्लड बैंकसमेत नहुँदा दुई जनाले रक्तदान गरेर लोककुमारीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि निरन्तर रक्तस्राव भएपछि अस्पतालले रेफर गरेको उनका पति कीर्तिमान लिम्बूले बताए । जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँग समन्वय गरी उद्धार गरिएको प्रजिअ हुमागार्इंले बताए ।

 

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *