घोराही, ८ माघ ।
घोराही उपमहानगरपालिका वडा नम्बर–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा एकैदिन २७ लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ २०७५ को छैठौँ दिन २७ लाख ३९ हजार ८ सय ६० रुपैयाँ दान संकलन भएको छ । महायज्ञमा हालसम्म ६६ लाख बढी दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिए ।
महायज्ञमा एक परिवारले साढे १२ लाख नगद दान गरेको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका १३ का विमला गिरीको परिवारले १२ लाख ५१ हजार रुपैयाँ दान गरेको हो । स्वर्गीय हजुरबुवा रणु गिरी, हजुरआमा तुलसा गिरी, स्वर्गीय ससुरा शुभान गिरी, सासु मीना गिरी र स्वर्गीय बुवा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उनको श्रीमान वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा.रञ्जु गिरी, इञ्जिनियर आस्था गिरी र छोरा अवनिस गिरीले उक्त रकम विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दान गरेका हुन् । जुन महायज्ञमा हालसम्मकै सर्वाधिक राशी हो ।
यस्तै महायज्ञको भूमिदान समन्वय उपसमितिका संयोजक घोराही उपमहानगरपालिका वडा नम्बर १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । स्वर्गीय आमा खड्गकुमारी खत्री र स्वर्गीय बुवा लोकबहादुर खत्रीको स्मृतिमा छोरा दुर्लभ केसी र बुहारी सुम्निमा केसीले उक्त रकम दान गरेको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिए ।
महायज्ञमा घोराही उपमहानगर वडा नम्बर १६ का केशव खत्रीले ५ लाख ५६ हजार १ सय ११, महायज्ञ आर्थिक समितिका संंयोजक भूपाल गिरी र श्रीमती गीताकुमारी गिरीले स्वर्गीय बुवा लिलु गिरी र स्वर्गीय आमा पूर्णकला गिरीको स्मृतिमा १ लाख ५ हजार १ सय १५, घोराही १३ का सतबहादुर पुनले १ लाख ११ हजार १ सय ११, घोराही १३ का महानसिंह भारती र कमला लम्साल भारतीले २९ हजार ९ सय १९, घोराही १५ का गोविन्द केसीले २७ हजार ७ सय ७७, घोराही १३ का लेखराज केसीले २५ हजार १ सय १ रुपैयाँ दान गरेको आर्थिक समितिका केशव गिरीले जानकारी दिए । महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहेका छन् ।