दाङ, माघ ८ ।
जिल्ला अनुगमन समन्वय समिति दाङले देउखुरी क्षेत्रमा सञ्चालन भएका क्रसर उद्योगको अनुगमन गरेको छ । जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वको टोलीले सोमवार पाण्डवेश्वरी, सोमैथान, सम्राट माइनिङ र पाण्डव बालुवा वासिङ उद्योगको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उद्योग सञ्चालनदेखि अन्य कागजातपत्र फेला नपरेको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा उद्योग सञ्चालन र खरिद विक्रीका कागजात पाउन सकिएन । ‘तत्तकाल कागजात लिएर आउन निर्देशन दिएका छौ’ अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ।
त्यसैगरेर उद्योगमा जम्मा गरेर राखिएको नदीजन्य पदार्थको नापजाँच समेत गरिएको छ । अनुगमनमा जिल्ला अनुगमन तथा समन्वय समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी गण भालुवाङका प्रहरी उपरिक्षक तुलसीराम दाहाल, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती सहितको सहभागिता थियो ।