दाङ, माघ ७ ।
प्रहरीले दुईवटा चितुवाको छालासहित सुर्खेतबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार वीरेन्द्र नगरनगरपालिका वडा नं. ३ एरिचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका वडा नं. ४ सिउना कालिकोट निवासी २९ बर्षीय टंकप्रसाद संजेल (उपाध्याय) लाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले प्रदेश नम्बर ५ को प्रदेश प्रहरी ब्यूरोका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग समन्वय गरी उपाध्यायलाई पक्राउ गरेको जानकारी दिए ।
उपाध्यायलाई प्रहरीले आइतबार बिहान साढे ३ बजेतिर पक्राउ गरिएको बताएको छ । पक्राउ परेका उपाध्यायको साथबाट एकथान ध्वाँसे चितुवा र एकथान वयस्क चितुवाको छाला बरामद गरिएको जानकारी दिइएको छ ।
उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत आवश्यक कारवाहीको डिभिजन वन कार्यालयमा बुझाउने प्रदेश प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । प्रदेश प्रहरी ब्यूरोको यही टोलीले गत हप्ता मात्रै बाँकेको कोहलपुर क्षेत्रबाट दुर्लभ पाटे बाघको छालासहित दुईजनालाई पक्राउ गरेको जानकारी दिएको छ ।