तुलसीपुर, माघ २ । आइतबार तुलसीपुरमा कोरोना भाइरसका थप २२ जना नयाँ संक्रमित थपिएका छन् ।
तुलसीपुर मेट्रो अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ५१ जनाको परीक्षण गर्दा २२ जना नयाँ संक्रमित थपिएका हुन ।
तुलसीपुर मेट्रो अस्पतालमा ४७ जनाको परीक्षणमा २० जना र राप्ती प्रादेशिक अस्पतालमा ४ जनामा २ जनामा कोरोना पोजेटिभ देखिएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
संक्रमित हुनेमा शिक्षक ४ जना , बिद्यार्थी २ जना ,स्वास्थ्यकर्मी १ जना रहेका छन । यी बाहेक अन्य भने व्यवसायी र समुदायका मानिसहरु रहेका छन् ।
संक्रमितहरु ५ बर्ष देखि ५९ बर्ष सम्मका व्यक्तिहरु छन् ।
यो सहित तुलसीपुरमा मात्रै सक्रिय संक्रमितको संख्या २३८ जना पुगेको छ । जसमा १४५ पुरुष र ९३ महिला रहेका छन् । यो करिब डेढ हप्ता भित्रै थपिएको संक्रमितको संख्या हो । ती मध्य २३० जना घरमै आइसोलेसनमा बसेका छन् । यो बीचमा ८६ जनाले कोरोना जितेका छन् ।
हालसम्म सबै भन्दा बढी संक्रमित क्रमशः वडा नं. ं ५,६,७,८,९ मा फेला परेका छन् । हाल सम्म तेस्रो लहरको संक्रमण वडा नं. १३ मा शून्य अवस्थामा रहेको छ। बिगत समेतलाई जोड्ता तुलसीपुरमा सक्रिय संक्रमितको कुल संख्या ३२४ पुगेको छ ।
ज्वरो धेरै आउन थालेमा ,श्वास फेर्न कठिनाई भएमा र अन्य थप जटिल समस्या देखिएको खण्डमा तत्काल कोरोना अस्पतालमा सम्पर्क राख्न फोकल पर्सन बिमल केसीले आग्रह गरेका छन् ।
