तुलसीपुर, ३० पुस ।
तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर बनाउनका लागि यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । ‘प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो’ उनले बताए । उनले २० माइक्रोनभन्दा कम तौल भएको प्लाष्टिकको झोला पहिलो चरणमा बन्देज लगाइएको समेत बताए । ‘प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरासमेतमा बन्देज लगाइएको छ’ पाण्डेले भने ।
तुलसीपुर उपमहानगरलाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताए ।
यसैबीच तुलसीपुर उपमहानगरले प्लाष्टिक झोलामुक्त घोषणा गरेसँगै यहाँका व्यवसायीहरुमा उत्साह थपिएको छ । उपमहानगरपालिकाले घोषणाको तयारी गरेसँगै तुलसीपुर उद्योग वाणिज्य संघले प्लाष्टिक बढी मात्रामा प्रयोग हुने किराना व्यवसायीसँग छलफल सुरु गरेको अध्यक्ष वीरबहादुर रावत रावतले बताए । उनले यो सबैको साझा अभियान भएकाले निस्वार्थ सबैले साथ दिनुपर्ने बताए ।
तरकारी व्यापारी माधव घिमिरेले सबैलाई जानकारी गराएर लागू गरेको भए उचित हुने बताउँदै आफूहरुले यसलाई अनिवार्य पालना गर्ने बताए । मान्छेले घरबाटै झोला बोक्ने बानीको विकास गर्नसके यो अभियानले मूर्तता पाउने उनको कथन थियो ।
तुलसीपुर चेम्वर अफ कमर्शमा अध्यक्ष टोपबहादुर घर्तीले उपमहानगरपालिकाले यसको उचित विकल्प दिनुपर्ने बताए । ‘मानिसहरुमा बानी नपरेकाले यो विस्तारै कार्यान्वयन हुँदै जाने देखिन्छ’ घर्तीले भने । शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्नका लागि यो राम्रो कदम भएको उनको कथन थियो ।