काठमाण्डौ,पुस १५ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली श्रमिकहरुको माग विश्व बजारमा बढेको बताएका छन ।
‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड रिमिट समिट’लाई हिजो सम्बोधन गर्दै उनले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका विभिन्न देशमा पुगेका नेपाली श्रमिकहरुले रोजगारदाताको मन जित्ने गरेको बताए ।
मन्त्री खड्काले सीपयुक्त दक्ष जनशक्तिलाई रोजगारी दिन विभिन्न देशले नेपाल सरकारसँग आग्रह गरेका, नेपालीको इमान्दारी एवं परिश्रमको कदरसमेत गरेका बताउँदै भने, “पाकिस्तानी र बङ्गलादेशीभन्दा नेपालीलाई रोजगारदाता राष्ट्रले रुचाएका छन् ।”
विश्वको श्रम बजारमा ६० वर्षभन्दा माथिका पुस्ताको सङ्ख्या अधिक भएको र श्रमिकको आवश्यकता बढिरहेको सन्दर्भमा दक्ष जनशक्ति विदेश गएमा आम्दानी पनि बढ्ने उनले बताए ।
श्रम बजारमा नेपालीको माग बढिरहेको वास्तविकतातर्फ सङ्केत गर्दै उनले नेपालीको माग बढेको बताए ।
यस्तै उनले आफ्नो भाग्य चम्काउन अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीका समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयले समन्वयात्मक ढङ्गले काम गरिरहेको पनि बताए ।
‘फ्री भिजा, फ्री टिकेट’ प्रणालीलाई व्यवस्थित गर्न दुवै मन्त्रालयत्रबीच घनीभूत छलफल एवं नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले विप्रेषणको मूल्य नेपालीले विदेशमा ज्यान गुमाएर चुकाएकाले त्यसलाई बेवास्ता गर्न नसकिने बताए ।
यस्तै उनले नेपाली श्रमिकको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको पनि उल्लेख गरे ।
वैदेशिक रोजगारीका समग्र पक्ष, देशको कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान, अनुत्पादक क्षेत्रमा त्यसको उपयोग, खाडी देश र मलेसियामा अधिकतर नेपालीले झेल्नुपरेका समस्या, अतिरिक्त समय श्रम गरेबापत पाउनुपर्ने पारिश्रमिक उपलब्ध नगराउने रोजगारदाताका अन्यायपूर्ण व्यवहार, श्रमिक महिलाका पीडा, गैरकानुनीरुपमा विदेश पुगेर आपराधिक मुद्दा लागेकादेखि लिएर मातृभूमिमा परिवारमा आएका सामाजिक विखण्डनलगायत राष्ट्रले बेहोर्नुपरेका चुनौतीलाई पार लगाउँदै वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित बनाउन समाजका हरेक वर्गको सहयोगको अपेक्षा सरकारले गरेको परराष्ट्रमन्त्रीले बताए ।