२०८३ जेष्ठ ३० गते शनिवार

फोरलेन सडक निर्माणको जिम्मा तीन पेटी ठेकेदारलाई

दाङ,२ पुस । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ । पहिले निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफै सडक निर्माण गर्ने बताएको तथ्यले पुनः अन्य निर्माण कम्पनीहरुलाई सडक निर्माणको जिम्मा दिएको हो ।

अष्टभैरव निर्माण सेवासँग सम्झौता तोडेको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले गत मंसिर १० गते घोराहीमा फोरलेन सडकको शुभारम्भ गर्दै प्रालिका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अव सडक निर्माणको काम आफ्नै कम्पनीले गर्ने बताएका थिए । उनले स्थानीय प्रतिनिधिले सडक निर्माण नगरेर आफ्नो कम्पनीको बद्नाम गरेको भन्दै अव सडक निर्माणको कामले गतिलिने प्रतिवद्धता जनाएका थिए । तर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेकेदारका रुपमा बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका आधिकारीक प्रतिनिधि बिजय पाठकले जानकारी दिएका छन् ।

प्रतिनिधि पाठकका अनुसार अव बबई नदिदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्नेछ । तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चारलेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन् । निर्माण कम्पनीका अनुसार बबई नदीदेखि–कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर,नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८.३१ किलोमिटर सडक चारलेन बनाउने गरी सम्झौता भएको छ ।

पुरानाले सहयोग नगर्दा काममा ढिलाई

फोरलेन सडक निर्माणको सुभारम्भ गरेको २२ दिनपछि पुन ः तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले जिल्ला प्रशासन कार्यालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका लागि भैरहेको कामका बारेमा जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सडक निर्माणको जिम्मा पाएका तीन वटै पेटी कम्पनीका प्रतिनिधिहरुलाई राखेर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि बिजय पाठकले वितेको २२ दिनको अवधिमा सडक निर्माणका लागि कम्पनीले कागजी प्रक्रिया र डाटा संकलनको काम गरिरहेको बताएका छन् ।

सडक निर्माणकालागि प्रक्रियागत कामसँगै भौतिक प्रगति अघि बढाउनका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरि काम गर्न नसकेको बताए । ‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । यो काम मिलाउने अव अन्तिम चरणमा छौ’,प्रतिनिधि पाठकले भने,‘यो काम सकेपछि सडकको निर्माणको कामले गति लिनेछ । इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध नगराउदा काम गर्न समस्या भएको छ । अहिले त्यो काम मिलाउन अहिले लागी परेका छौ ।’ उनले उक्त काम अवको एक हप्ताभित्र सकिने समेत बताए ।

निमार्ण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको बताएको छ । पहिलो ठेकेदार पक्षले ल्याब नदिएपछि माटो परिक्षणका केन्द्रमा पठाउनु पर्दा सडकमा काम गर्न ढिलाई हुन पुगेको बताइएको छ ।

सडक निर्माणको काम २ वर्षमा काम सम्पन्न गर्ने करिव ३४ महिनाअघि ठेक्का सम्झौता गरेको अष्टभैरव निर्माण कम्पनीले काम नगर्दा मुख्य कम्पनीले उसँग सम्झौता तोडेको थियो । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गरी फोरलेनको सम्झौता भएको थियो । १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *