ओमप्रकाश गुप्ता, भालुवाङ पुस२ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी समय बेथित भइ सक्दापनि राजधानी कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति दाङको बिहीबार देउखुरीको भालुवाङमा भएको बैठकमा राप्ती गाउँपालिकामा क्रियाशिल बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले त्यस्तो चेतावनी दिएका हुन ।
नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको अध्यक्षतामा भएको बैठकले राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी भइ सक्दा पनि अस्थायी मुकाम बुटवलबाट मन्त्रालय तथा प्रशासनिक कामहरु हुन दुभाग्र्य भएको निर्णय गर्दै अझैं ढिलाई गरे आन्दोलन गर्ने निर्णय गरेको हो ।
स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा स्तान्तरणमा चरम ढिलाई भएको, राप्ती प्राविधिक शिक्षालयमा बन्दै गरेको प्रदेशसभा भवन निर्माणका लागि अर्थ मन्त्रालयले बजेट रोकेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरे ।
प्रदेशसभा भवन निर्माण अवरुद्ध हुनु अत्यन्तै दुःखद पक्ष भएको बैठकका सहभागिहरुले बताए ।
राजधानी कार्यान्वयनमा दबाब दिन चरणबद्ध आन्दोलन गर्ने निणर्य भएको बैठकपछि जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिए ।
बैठकले तत्काल राजधानी कार्यान्वयनमा दबाब दिन भन्दै आन्दोलनको कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पहिलो चरणमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाउन बुटवल डेलिकेशन जाने र मुख्यमन्त्री केसी संग राजधानी कार्यान्वयमा देखिएको ढिलाई प्रति छलफल गर्ने निर्णय पनि गरेको छ ।
पहिलो चरणको दबाबबाट पनि राजधानी कार्यान्वय प्रक्रिया अगाडि नबढे मुख्यमन्त्री, मन्त्रीहरु, पूर्व मुख्यमन्त्रीसहित, स्थानीय तहका जनप्रतिनिधि, संघीय सांसद, प्रदेश सांसद, राजनीति दल, उद्योग बाणिज्य संघ, नागरिक समाज, संघसंस्था, पत्रकार, समाजसेवी, बुद्धिजिवी सहितको बृहत्त अन्तक्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा नेकपा एमालेका टोपबहादुर झाँक्री, नेकपा माओवादी केन्द्र राप्तीका उपाध्यक्ष नारायणप्रसाद शर्मा, जनता समाजवादी पार्टी नेपाल राप्तीका अध्यक्ष रणप्रसाद सुवेदी, नेकपा एकीकृत समाजवादी राप्तीका अध्यक्ष ज्ञानु गौचन, नेकपाका भिमप्रकाश पुन लगायतको सहभागिता रहेको थियो ।
