तुलसीपुर, २३ मंसीर । तुलसीपुरको हात्तिखौवामा आगामि पुस १ गतेदेखि सन्चालन गर्ने भनिएको मेला महोत्सवका विषयमा आयोजक तुलसीपुर च्याम्वर अफ कमर्शका पदाधिकारी तथा मुख्यमन्त्री कुल वहादुर केसीबीच विहिवार तुलसीपुरमा छलफल भएको छ ।
छलफलका क्रममा तुलसीपुर च्याम्वर अफ कमर्शका अध्यक्ष टोप वहादुर घर्तिले आफुहरुले आयोजना गरेको तुलसीपुर व्यापारीक एवं पर्यटन महोत्सवका विषयमा जानकारी गराउंदै मुख्यमन्त्री कुल वहादुर केसीलाइ प्रमुख अतिथिको निम्तो दिएका छन् । व्यावसायीहरुको संस्था च्याम्वर अफ कमर्शको आफ्नै कार्यालय भवन समेत नभएको अवस्थामा भवन निर्माणको सहयोगार्थ मेला महोत्सवको आयोजना गरीएको अध्यक्ष घर्तिले मुख्यमन्त्री केसी समक्ष बताएका थिए । ‘हामी विसुद्ध रुपमा स्थानिय उत्पादन र स्थानिय कृषि उपजलाइ प्रवद्र्धन गर्नकालागी मेला आयोजना गरेका हौं, यसमा प्रदेश सरकार तथा स्वयम मुख्यमन्त्रीको साथ र सहयोगको अपेक्षा गरेका छौं’, अध्यक्ष केसीले भने । सो अवसरमा च्याम्वर तुलसीपुरका महासचिव प्रेम योगी, नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर सभापति खुसीराम चौधरीले पनि मेलालाइ सफल बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कुल वहादुर केसी(सोनाम)ले विषम परीस्थीतिमा मेला आयोजना भैरहेको उल्लेख गर्दै जुनसुकै वेला पनि मेला महोत्सव रोकिन सक्ने बताएका थिए । ‘नयां भेरीयन्टले विश्वनै गम्भीर भैरहेकावेला नेपालमा पनि फेरी स्वास्थ्य मापदण्डमा कडाइ गर्ने वेला आएकाले जुनसुकै वेला पनि यस्ता कार्यक्रमहरु रोकिन सक्ने छन्’—मुख्यमन्त्री केसीले भने । छिमेकी भारतमा समेत नयां भेरीयन्ट देखिएको उल्लेखगर्दे मुख्यमन्त्री केसीले चांडै नेपाल सरकारले पनि नाकामा कडाइ तथा यस्ता जमघट बन्द गर्न सक्ने पनि संकेत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउने विषयमा अहिल्यै निधो नगर्न आग्रह गर्दै समय र परीस्थीति सकारात्मक भएमा आउन सक्ने आश्वासन पनि मुख्यमन्त्री केसीले दिएका थिए ।