नेपालगञ्ज,मंसिर २२ । नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिलेसम्म कै कम चार जना मात्र विरामीको उपचार भैरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
पछिल्लो समयमा संक्रमित हुनेको सङ्ख्या निकै कम हुँदै गएको र कुनै दिन एक जना पनि संक्रमित फेला नपर्ने गरेकाले अस्पताल पुग्नेहरु पनि घट्दै गएर शुन्यमा पुग्न थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।
उनले हाल चार जना मात्र संक्रमित विरामी अस्पतालमा रहेको र ती मध्ये दुईजना सामान्य अवस्थाका र दुई जनालाई अक्सिजन सपोर्ट दिएर राखिएको बताए ।
यो सङ्ख्या अस्पतालमा कोभिड विरामी भर्ना सुरु हुन थालेदेखिकै सबैभन्दा कम भएको पनि फोकल पर्सन ओलीले बताए ।
उनका अनुसार भेरी अस्पतालमा २०७७ साल भदौ ३१ देखि कोभिडका विरामीहरुको उपचार सुरु गरिएको थियो । त्यो भन्दा अघि खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका विरामी भर्ना गरेर उपचार गर्ने गरिएको थियो । २०७७ वैशाख १९ गते पहिलो संक्रमित खजुरा अस्पतालले भर्ना गरेको थियो ।
भेरी अस्पतालबाट चिकित्सकहरु पुगेर खजुरामा राखिएका विरामीको उपचार र परामर्श गर्ने गरेका थिए । चिकित्सकहरुलाई आउजाउमा समस्या पर्ने स्थिति आएपछि खजुराको क्यान्सर अस्पतालमा रहेको कोभिड अस्पताल भेरीमा सारिएको थियो ।
दोस्रो लहरमा थेग्नै मुस्किल पर्नेगरी सो अस्पतालमा कोभिडका विरामी भर्ना भएका थिए । कोभिड वार्ड भरिभराउ भएर गल्लीमा समेत बेड बनाएर विरामीको उपचार गरिएको थियो । कोभिड विरामी भर्ना हुने दर भदौदेखि घट्दै आएको अस्पतालले जनाएको छ । विरामी भर्ना दर न्यून भएपछि भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि राहात मिलेको छ ।
अस्पतालमा विरामीको भर्ना दर घटेसँगै जोखिमको मात्रा पनि कम भएको चिकित्सकको भनाइ छ । तर हाल आएर फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम देखिएकाले सतर्कता अपनाउन र पूर्व तयारी गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, सरसफाईमा ध्यान दिने, सेनिटाइजरको प्रयोग गर्ने कुरालाई निरन्तरता दिनुपर्ने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक तथा वरिष्ठ चिकित्सक डा. रोमन किदवाईले बताए । उनले स्वास्थ्य मापदण्डको पालना र सावधानीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।