२०८२ चैत्र ३ गते मङ्गलवार

राप्रपा निर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै,बैठकमा कमल थापा नजाने

काठमाण्डौ,मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा आज बस्दै छ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार साढे १२ बजे निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन्। बैठकमा राप्रपाका निवर्तमान अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापालाई बोलाइएको छ।

यद्यपि, थापा भने बैठकमा नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए। पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन।

उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि थापा अहिले नै बैठकमा जाने परिस्थिति बनिनसकेको बताए। बुधबार बस्ने बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन्।

पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुन्छन्। पूर्वअध्यक्षत्रय तिनै जनालाई बैठकमा बोलाइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए।

बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ। यसैबिच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निवर्तमान अध्यक्ष कमल थापाको कोठामा नबस्ने भएका छन्।

लिङ्देनका लागि राप्रपा केन्द्रीय कार्यालयमा नयाँ कोठाको तयारी गरिएको नेता मोहन श्रेष्ठले बताए। लिङ्देनले आफ्नो महामन्त्रीको पुरानै कोठामा अध्यक्षको पदभार ग्रहण गरेका छन्।

निवर्तमान अध्यक्ष थापाको सम्मानका लागि लिङ्देन उनको कोठामा नबस्ने निचोडमा पुगेको श्रेष्ठले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *