काठमाडौं,मंसिर २१ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ। मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।
उनले यसपालि सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताए। कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने उनको घोषणा छ।उनी यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य थिए।
उनी कांग्रेस हुम्लाको संस्थापक सभापति हुन्। २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको उनी पहिलो सभापति बनेका थिए।
उनी ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनबाट सांसद निर्वाचित भएका थिए। ०७४ मा उनी प्रदेश सांसद भएका थिए।
प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार