
दाङ,मंसिर १५ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन र भरत कुमार शाह भिड्ने निश्चित भएपछि अब नेताहरु पदाधिकारीका उम्मेदवार चयनमा जुटेका छन् ।
संस्थापन समूहबाट शाह र संस्थापन इतरबाट अमरसिंह पुन सभापतिको उम्मेदवार बन्ने टुंगिसकेको बताइएको छ ।
रुपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका सांसद शाह सार्वजनिक लेखा समितिका सभापति समेत हुन् । पुन रोल्पाका निवर्तमान सभापति एवम् पूर्व सिंचाई राज्यमन्त्री हुन् ।
मंसिर १७ गते प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । संस्थापन इतरबाट उम्मेदवारी दिने बताएका नेता पुनले आफ्नो समूहबाट धेरै पहिले नै आफूले सर्वसम्मतरुपमा आफ्नो उम्मेदारी घोषणा गरेको र जित समेत सुनिश्चित रहेको बताए ।
लुम्बिनी प्रदेशमा निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये करिब ६५ प्रतिशत आफ्नो समूहका रहेको उनको दावी छ । पुनको प्यानलबाट महामन्त्रीका लागि ५ जनाको चर्चा छ ।
नेता पुनले लुम्बनी प्रदेशका सांसद दाङका शंकर गिरी, पूर्व राज्यमन्त्री तथा कपिलबस्तुका पूर्व सभापति सुरेन्द्रराज आचार्य, संविधानसभा सदस्य नवलपरासीका विक्रम खनाल, अर्घाखाँचीका निवर्तमान सभापत विष्णु मुस्कान र गुल्मीका भुवन प्रसाद श्रेष्ठमध्ये दुई जना महामन्त्रीको उम्मेदवार बन्ने बताए ।
प्रदेशमा २ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । यिनीहरु मध्ये बाटै उपसभापतिका उम्मेदवार बन्ने सम्भावना पनि रहेको छ ।
कांग्रेसका पुराना नेता गिरी महामन्त्रीको उम्मेदवार हुने प्रबल सम्भावना रहेको बताइन्छ । २०३६ सालमै दाङ कांग्रेसको सचिव रहिसकेका गिरी कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
२०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि जिल्ला सचिव भएर काम गरिसकेका गिरी प्रभावकारी भाषणकला भएका अध्ययनशील स्वभावका छन् । गिरीले लुम्बिनी प्रदेशसभामा कांग्रेसका तर्फबाट प्रभावशाली उपस्थिति देखाइरहेका छन् ।
संस्थापन समूहबाट भने अहिलेसम्म महामन्त्रीको उम्मेदार फाइनल गरिएको छैन । प्रदेश पदाधिकारीमा २ जना उपसभापति, २ जना महामन्त्री र २ जना सहमहामन्त्री रहन्छन् । अरु कार्यसमिति सदस्य पनि निर्वाचित हुन्छन् ।