तुलसीपुर, मंसिर ११ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार घोराहीमा मतदान भएको छ । घोराहीस्थित पदमोदय पब्लिक माद्यामिक बिद्यालयमा मतदान भएको हो ।
निर्वाचन समितिका अनुसार दुई हजार एक सय ३४ जनाले नेपाली काँग्रेसको नयाँ जिल्ला कार्य समिति चुन्नका लागि मतदान गरेका छन् । मतपत्रका टिक दूई हजार एक सय ३८ जना रहेपनि मत पत्र पट्याउने क्रममा जम्मा दूई हजार एक सय ३४ मत मात्रै फेला परेको स्रोतले फरककोणलाई जानकारी दिएको छ ।
कुल मतदाता दुई हजार एक सय ९२ जना रहेकोमा ५८ जना मतदानमा अनुपस्थित भए । यो संख्या जित हारका लागि प्रयाप्त संख्या हो । यति ठूलो संख्या मतदानमा किन अनुपस्थित भए ? भनेर कतिपय उम्मेदवारले समेत चिन्ता जाहेर गरेका छन् ।
नेपाली काँग्रेस दाङको जिल्ला सभापति पदमा चार जना नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन इतरबाट जिल्ला सचिव शंकरप्रशाद डाँगी र संस्थापन पक्षबाट दाङ क्षेत्र नं. २ का निर्वचत क्षेत्रीय सभापति भुपबहादुर डाँगी, पूर्व जिल्ला सचिव कमल किशोर घिमिरे र दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने नेता जानकीलाल बस्नेत सभापति पदमा भिडेका छन् ।
घिमिरे १३औं महाधिबेशनका क्रममा पनि जिल्ला सभापतिका उम्मेदवार थिए । उनी अहिलेका जिल्ला सभापति कीर्तिबहादुर खड्कासंग पराजित भएका थिए । त्यस्तै बस्नेत नेविसंघका पूर्व दाङ जिल्ला अध्यक्ष हुन । उनी १३औं महाधिबेशनका क्रममा क्षेत्र नं. १ मा बराबर मत आएपछि गोलापर्थाबाट पराजित भएका ब्यक्ति हुन । अनुराग याद गोला तान्दा भाग्यमानि सावित भएका थिए ।
त्यस्तै भूपबहादुर डाँगी स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित भएका ब्यक्ति हुन ।
कस्को पल्ला भारी होला ?
मतगणना जिल्ला पार्टी कार्यालय घोराहीमा भएको छ । एक सय मत गणना हुँदा शंकर डाँगीले सबै भन्दा बढी ६३, भुपबहादुर डाँगी २१, जानकीलाल बस्नेत ८ र कमलकिशोर घिमिरेले ७ मत प्राप्त गरेका छन् ।
जानकारहरुका अनुसार चार जना प्रतिस्पर्धी भएको हुँदा एकै पटक जिल्ला नेतृत्वको टुँगो लाग्न कठिन हुने छ । जित्नेले ५१ प्रतिसत मत प्राप्त गर्ने प्राबधान रहेको हुँदा कसैको पक्षमा पनि उक्त मतपरिनाम नआउने आँकलन गरिएको छ ।
जिल्ला नेतृत्व चुन्न फेरि दोस्रो चरणको मतदान हुन सक्ने अडकलबाजीहरु भइरहेका छन् । चार जना मध्य पहिलो पटकमा दुई जना कस्को बीचमा टक्कर होला ? त्यो अनुमान गर्न सहज छैन । तर, प्रारम्भीक चरणको मत परिनामको नतिजालाई आधार मान्ने हो भने प्रतिस्पर्धा शंकर डाँगी र भुपबहादुर डाँगीकै बीचमा हुन्छ कि ? भन्ने अनुमान गर्न थालिएको छ ।
तस्बिर – सञ्तोष सुबेदी