२०८३ जेष्ठ ३१ गते आइतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं,मंसिर ५। कोभिड विरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् ।

‘आज, भोलि र पर्सिका लागि १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने भनिएको हो । तर खोपको मौज्दात कम छ । खोप लगाउन कति आउनुहुन्छ, त्यसैको आधारमा कति समय खोप अभियान चल्छ भन्ने हो,’ उनले भने ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *