२०८१ बैशाख २० गते बिहिवार

सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छ : कार्यवाहक प्रधानमन्त्री खाण

काठमाडौँ,कात्तिक १५ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा विश्व ओमकार महासंघको ज्ञापन पत्र बुझ्दै सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताए ।

‘हामी धार्मिक र सामाजिक सदभावको पक्षमा छौँ । सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने ।

उनले सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनु पर्ने बताए । वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सदभाव खल्बलिने उनले बताए । धार्मिक र सामाजिक सदभाव कायम राख्न विभेदको अन्त्य गरिनु पर्ने उनको भनाइ थियो ।

महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेलसहितले कार्यबाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा चितवको भरतपुर महानगरपालिका वडा नम्बर चारमा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही अवाञ्छित व्यक्तिहरूले दुर्गा मन्दिरलाई जोडी जातीय विभेद र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेकोमा महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।

ज्ञापन पत्रमा महासंघको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरिएको र त्यो पूजामा दलित तथा गैरदलितहरूको उल्लेख्य सहभागिता हुँदा सामाजिक सन्देश दिन सफल भएको उल्लेख छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *