२०८३ भाद्र १० गते बुधवार

केपी ओली प्रधानमन्त्री हुँदा राजाझैं व्यवहार गरे : प्रचण्ड

चितवन,कात्तिक १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीमा सधैं सत्तामै रहिरहने मानसिकता हावी भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र भरतपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले केपी ओलीले आफू सधैं प्रधानमन्त्री भइरहने सपना देखेर निरंकुशता लाद्न खोजेको समेत आरोप लगाए ।

प्रचण्डले भने,‘केपी ओलीको दिमागमा माओवादी आतकं छाएको छ। माओवादी केन्द्रकै कारण केन्द्र, प्रदेश र सबै तहको सरकारबाट बाहिरिनु परेको उनीसँग पीडा छ।’

उनले आफ्नो कारणबाट केपी ओली परास्त भएको दावी गरे। उनले भने,‘गठबन्धन बनाएर बहुमत जुटाएर मेरो यो हालत बनायो भनेपछि ओली जी जसरी सकिन्छ प्रचण्ड र माओवादीसँग बदला लिनेमा छन् ।’

उनले आफ्नाविरुद्ध षडयन्त्र गर्दै चितवनमा महाधिवेशन गरेर ओलीले गल्ती गरेको बताए ।

प्रचण्डले भने,‘मलाई ताकेर एमालेले चितवनमा महाविधेशन गर्न लागेको देखियो। ओलीले ठूलो गल्ती गरे। बुटवलबाट चितवनमा महाधिवेशन गर्ने निर्णय गर्नु केपी ओली मानसिक रुपमै हारेको प्रमाण हो।’

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्वमा पुर्‍याउने आफ्नो सपना ओली प्रवृत्तिका कारण पूरा हुन नसकेको टिप्पणी गरे । आफूहरुले ओलीलाई धेरै सच्चाउन खोज्दा पनि सच्चिनुको सट्टा पार्टीभित्रको संघर्षमा पराजय भएको रिस संविधान मिच्ने र लोकतन्त्र मास्ने काम गरेको बताए।

प्रचण्डले भने,‘चितवनमा आफ्नो राजनीति सिद्धाउन षड्यन्त्र भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा ठूलो राजनीतिक लडाइँ हुन लागेको छ।’
उनले लोकतन्त्रवादी र त्यसको विरोधीबीचको लडाइँको केन्द्र चितवनमा हुने बताए।

एमालेले चितवनमा महाधिवेशन गरेपछि प्रचण्ड भागेर बर्दिया जान्छ कि कालिकोट जान्छ भन्ने प्रचार भित्रभित्रै गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *