तुलसीपुर,कात्तिक ७ ।नेकपा एमालेकोे १०औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङका पाँज जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन ।
दाङ जिल्लाका एक सय वडा मध्य एमालेमा पाँच वटा वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसरमा पाएपनि त्यो चर्चाको बिषय बनेको छ ।
शनिवार सम्पन्न अधिवेशनबाट दंगीशरण गाउँपालिका वडा नं. १ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मत रुपमा चयन भएकी हुन । उनी गृहेणी हुन ।
त्यस्तै बबई गाउँपालिका ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई ७ की वडा सदस्य र बबई गाउँपालिकाको कार्यपालिका सदस्य हुन ।
घोराही उपमहानगरपालिका १ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छिन । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्यपनि हुन । त्यस्तै घोराही ४ मा लिला गोतामे अध्यक्ष भएकी छन् ।
गोतामे निर्वाचित वडा सदस्य हुन ।
गढवा गाउँपालिका ४ मा सीता थापा वडाध्यक्ष भएकी छिन । थापा रेडक्रसकर्मी हुन ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत वडा अधिबेशनबाट शान्तिनगरकी जम्मा एक जना महिला मात्रै वडाध्यक्षमा निर्वाचित भएकी थिइन ।
त्यसैले यो संख्या नेपाली काँग्रेसको भन्दा चार जना बढी हो । काँग्रेसको वडाध्यक्षमा आएकी महिला निर्वाचन जितेर आएकी थिइन । तर एमाले भित्र सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
प्रमुख दलका नेताहरु ३३ प्रतिसत महिला सहभागिताको कुरा गरि रहन्छन् । तर, ब्यबहारतहः जम्मा एक प्रतिसत वा पाँच प्रतिसत मात्रै महिला नेतृत्वमा पुग्नु निकै नगन्ने संख्या हो ।
यसले प्रमुख दलहरुले कुरा एउटा र ब्यबहार अर्कै गर्दै आएको कुरा छर्लंगै भएको छ ।
यसैबीच एमाले दाङका अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए ।
‘अन्य अधिवेशनको तुलनामा यस पटकको अधिवेशन अत्यन्तै ऐतिहासिक भएको छ,’ उनले भने, ‘हामीले लोकतान्त्रिक ढगंले बहस छलफलबाट निष्कर्षमा पुगेर पार्टीलाई भावनात्मक तरिकाले अधिवेशन सफल पारेका छौं।’
त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलाहरुलाई ३३ प्रतिशत नघट्ने गरि प्रत्येक कमिटिमा समावेश गरेको दाबी गरे ।

