तुलसीपुर,भदौ ३० । तुलसीपुरमा पालिका स्तरिय स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा आयोजनामा दुई दिने पालिकास्तरिय बार्षिक गोष्ठि कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
कोरोना माहामारीको संकटको बेला पनि स्वास्थ्यकर्मीहरुले सक्रिय भुमिका निर्वाह गरेकोमा धन्यावाद दिदै नगरप्रमुख पाण्डेले स्थानिय स्वास्थ्य संस्थाले दिने सेवालाई आगामी दिनहरुमा अझ थप शसक्त भएर लाग्नुपर्ने बताए ।
उनले हरेक स्वास्थ्यकर्मीहरुले आफु कार्यरत स्वास्थ्य संस्थाबाट हालसम्म भएका महत्वपुर्ण कामको समिक्षा गदै आगामी दिनमा गौरवपुर्ण कार्ययोजना तयार गर्न आग्रह गरे ।
तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको अवधारणा अन्र्तगत दिर्घकालिन रणनितिक योजना भित्र समृद्धी तुलसीपुर,सवैका लागी र सधैका लागी भन्ने संकल्प गरे अनुसार स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
उनका अनुसार यसका लागी हरेक स्वास्थ्यकर्मीहरुले पारिश्रमिकका लागी मात्रै नभई एकिकृत स्वास्थ्य सेवाको भावनाका साथ काम गर्न आवश्यक छ ।
उनले तुलसीपुरलाई स्वास्थ्य क्षेत्रका रुपमा नमुनायोग्य बनाउनका लागी सवैको महत्वपुर्ण भुमिका हुने भएकाले कसैले पनि डिउटी पुरा गरे जस्तो नभई सेवा जस्तो हुनुपर्ने बताए ।
जनस्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले गत वर्षमा गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।
कार्यक्रममा दुई दिन सम्म समिक्षा गरी आगामी कार्ययोजना तयार गरिने छ ।